नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश संसदीय दलका नेता तथा पूर्वमन्त्री भरतप्रसाद साहले आफ्नो पदबाट राजीनामा दिएका छन्।
उनीमाथि उठेका नैतिक चरित्रसम्बन्धी गम्भीर आरोप, विशेषगरी यौन विचलनसम्बन्धी विवादले पार्टीभित्र गहिरो असन्तोष र चर्को दबाब सिर्जना गरेपछि शीर्ष नेतृत्वको निर्देशनमा उनले राजीनामा दिएका हुन्। यससँगै मधेश प्रदेशभित्र लामो समयदेखि जारी आन्तरिक कलह तत्कालका लागि थामिएको देखिएको छ।
साहले सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर राजीनामा बुझाएको कुरा प्रदेशसभा सदस्य सुनिता यादवले पुष्टि गरेकी छन्।
केही महिनाअघि काठमाडौंस्थित पार्टी कार्यालयमा बसेको मधेश प्रदेश संसदीय दलको बैठकमा साहमाथि यौन दुराचारसम्बन्धी गम्भीर आरोप सार्वजनिक भएका थिए। ती आरोपले उनलाई नेतृत्व संकटको केन्द्रमा ल्याएको थियो। पार्टीको उच्च नेतृत्वबाटै राजीनामाको दबाब बढेपछि अन्ततः साहले पद त्याग गरेका हुन्।
स्रोतका अनुसार, केही नेताहरूले साहलाई जोगाउने प्रयास गरे पनि प्रदेशसभाका बहुमत सदस्यहरूले उनलाई हटाउन निरन्तर दबाब दिइरहेका थिए। आरोप सार्वजनिक भएपछि करिब १० महिनासम्म संसदीय दलको बैठकसमेत नबोलाइएको जनाइएको छ।
महोत्तरी क्षेत्र नं. १ (ख) बाट निर्वाचित साहको राजीनापछि अब नयाँ संसदीय दलको नेता चयनका लागि चाँडै बैठक बोलाउने तयारी भइरहेको जानकारी पनि यादवले दिइन्। हाल रौतहटबाट निर्वाचित युवराज भट्टराई (समीर) माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका उपनेता रहेका छन्। नयाँ नेता चयन भएपछि दलभित्र स्थायित्व आउने र विगतका विवाद समाधान हुने अपेक्षा गरिएको छ।