ट्रेन्डिङ

Logout

माओवादी केन्द्रको अडान: भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् अवरुद्ध

5.5k Shares

काठमाडौं - प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद् सञ्चालन हुन नदिने अडान राखेको छ।

बिहीबारको संसद् बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले विशेष समय लिएर बोल्दै यो अडान सार्वजनिक गरेका हुन्। 

‘भिजिट भिसा प्रकरणले उठाएका विषयका आधारमा हामीले गृहमन्त्री लेखकको राजीनामा मागेका हौँ,’ उनले भने, ‘गृहमन्त्रीले हिजो पत्रकार सम्मेलनमा कर्मचारीबारे जे–जति कुरा राख्नुभयो, हामीले सुनेका छौँ। भ्रष्टाचार भएको भए दोषी कर्मचारीमाथि कारबाही हुनुपर्छ। यो प्रकरणले हामीलाई गम्भीर बनाएको छ।’

पाण्डेले जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यतालाई ध्यानमा राख्दै संसद् सञ्चालनका लागि विशेष व्यवस्था गरिएको बताए। ‘संविधान कार्यान्वयन गर्न हामी प्रतिबद्ध छौँ। आज टेबुल हुने विषयका लागि मात्र संसद् अघि बढाउन दिएका हौँ,’ उनले थपे, ‘अन्य कुनै एजेन्डामा संसद् चल्न दिँदैनौँ। भ्रष्टाचारले नेपालीको शीर निहुरिएको छ। सरकारले भ्रष्टाचार रोक्न नसके हामी कडा रूपमा प्रस्तुत हुनेछौँ।’

पाण्डेले पूर्वराजा ज्ञानेन्द्र शाहलगायतले गरेको आन्दोलनको कडा आलोचना गरे। उनले गणतन्त्रको रक्षाका लागि सबै दल एकजुट हुनुपर्नेमा जोड दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार