काठमाडौं– ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले गणतन्त्र दिवसको अवसरमा बिहीबार हुने राजावादी आन्दोलनमा आफ्ना समूहका सदस्यहरूलाई सहभागी नहुन निर्देशन जारी गरेको छ।
गत चैत १४ गते काठमाडौंको तीनकुनेमा भएको घटनामा पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको ज्यान गएको घटनाका मुख्य आरोपीका रूपमा प्रहरी हिरासतमा रहेका प्रसाईं नेतृत्वको समूहले विज्ञप्ति जारी गर्दै राजावादी आन्दोलनमा सहभागी नहुन आग्रह गरेको हो।
‘जेठ १५ गतेको आन्दोलन राप्रपाको नेतृत्वमा भएकोले हाम्रो सहकार्य नरहेको हुँदा सहभागी नहुन निर्देशन गरिएको छ,’ महाअभियानको केन्द्रीय संगठन विभागका सचिव प्रेमदीप लिम्बूद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘कुनै पनि घटना भएमा महाअभियान जिम्मेवार नहुने स्पष्ट निर्णय गरिएको छ।’
विज्ञप्तिमा अध्यक्ष प्रसाईंलगायत गैरकानुनी रूपमा हिरासतमा रहेकाहरूको तत्काल रिहाइको माग गर्दै माइतीघर मण्डलामा जारी ‘सत्याग्रह’ बिहीबार स्थगित गरिएको पनि जनाइएको छ।
‘सत्याग्रह आन्दोलन २०८२ जेठ १६ गतेदेखि माइतीघर मण्डलामा पुनः निरन्तर सञ्चालन गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ। प्रसाईं नेतृत्वको समूहले जेठ १२ गतेदेखि माइतीघर मण्डलामा धर्ना सुरु गरेको थियो।