ट्रेन्डिङ

Logout

एमालेले अनेरास्ववियुमा ३२ वर्षे उमेरहद लागू गर्न निर्देशन

4.1k Shares

नेकपा (एमाले) ले गत जेठ ११ गतेको सचिवालय बैठकको निर्णयअनुसार अनेरास्ववियुमा ३२ वर्षको उमेरहद लागू गर्न निर्देशन जारी गरेको छ ।

अनेरास्ववियुका एक पदाधिकारीले पार्टी सचिवालयको निर्णय कार्यान्वयनका लागि निर्देशन प्राप्त भएको जानकारी दिएका छन् । पार्टीका एक नेताले पनि सोही निर्देशन जारी भएको पुष्टि गरेका छन् ।

‘पहिले नै पार्टी महासचिवले ३२ वर्षमुनिका र नियमित अध्ययनरत विद्यार्थीलाई मात्रै प्रतिनिधि छान्न निर्देशन दिनुभएको थियो,’ ती नेताले भने, ‘सचिवालयले उमेरहद लगाउने निर्णय गरेपछि त्यसलाई कार्यान्वयन गर्न अनेरास्ववियुलाई पत्र पठाइएको हो ।’

मंगलबार बसेको अनेरास्ववियु सचिवालय बैठकले उमेरहदको प्रस्ताव आगामी राष्ट्रिय महाधिवेशनमा लैजाने निर्णय गरेको छ । अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन जेठ २४ देखि २७ गतेसम्म काठमाडौंको कीर्तिपुरमा आयोजना हुँदैछ ।

३२ वर्षे उमेरहद लागू भएमा हालका पाँच जना पदाधिकारी मात्रै पदमा रहनेछन्, अन्य बिदा हुने छन् । उमेरहद लागेमा संगठनका सचिव प्रकाश पौडेल, अन्जना सिवाकोटी, डा. सुजन कडरिया, दीपक धामी र आरती भट्टराई पदमा रहने अनेरास्ववियुले जनाएको छ ।

यसअघि पनि संगठनमा उमेरहद लगाउने विषयमा छलफल भएको थियो । पहिलेको छलफलमा ३० वा ३२ वर्षको उमेरहद तोक्ने वा खुला राख्ने निर्णय महाधिवेशनमा छोड्ने सहमति भएको थियो । तर, पार्टीले अब ३२ वर्षको उमेरहद तोकेको छ ।

यसअघि एमालेले जनसंगठनका पदाधिकारीहरूको संख्या घटाएर ९ मा सीमित गर्ने निर्णय गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार