काठमाडौँ, जेठ १२, २०८२। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नेपाल समाजवादी पार्टी र नेपाः राष्ट्रिय पार्टीसँग एकता गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवासमा आज बसेको कार्यालय बैठकले यो निर्णय गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए। सोही निर्णयअनुसार आजै गङ्गानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी र विजय सैँजु नेतृत्वको नेपाः राष्ट्रिय पार्टीसँग एकता सम्पन्न हुनेछ।
बैठकले सुदूरपश्चिमको बैतडीबाट शुरू भएको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान निकै प्रभावकारी भएको निष्कर्ष निकालेको छ। प्रवक्ता सापकोटाले गण्डकी प्रदेशको कास्कीमा पुगेपछि अभियानको पहिलो चरण सम्पन्न भएको र अब छिट्टै पोखराबाट पूर्वतर्फ दोस्रो चरण शुरू हुने जानकारी दिए। “यो अभियानले जनताको उल्लेख्य सहभागिता र आकर्षण देखाएको छ। यसले राष्ट्रिय एकता, जनतन्त्र, जनजीविका, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा नयाँ आधार तयार गरेको छ,” उनले भने।
यसैगरी, माओवादी केन्द्रले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भएको ‘भिजिट भिसा’ प्रकरणमा गृह मन्त्रालयको नेतृत्वमाथि पनि प्रश्न उठेपछि स्वतन्त्र र निष्पक्ष छानबिनका लागि गृहमन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गरेको छ। “छानबिनलाई प्रभावकारी बनाउन गृहमन्त्रीले बाटो खुला गर्नुपर्छ भन्ने हाम्रो निष्कर्ष छ,” सापकोटाले भने।