नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोलीलाई बागलुङ नगरपालिकाले जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियानअन्तर्गत स्वागत र सम्मान गरेको छ।
सो अवसरमा नगर प्रमुख बसन्त कुमार श्रेष्ठले अभियानको सफलताको शुभकामना व्यक्त गर्दै नगरपालिकाका आवश्यकताहरू समेटिएको ज्ञापनपत्र अध्यक्ष प्रचण्डलाई हस्तान्तरण गर्नुभयो।
यसैगरी, जिल्ला समन्वय समितिका प्रमुख अमर बहादुर थापाले जिल्लाका समस्या र सम्भावनाहरूबारे आफ्नो धारणा राख्दै पूर्वप्रधानमन्त्रीबाट आवश्यक सहयोगको अपेक्षा गर्नुभयो।
कार्यक्रममा अध्यक्ष प्रचण्डले पातीहाल्नी हुँदै बागलुङ प्रवेश गरेपछि विभिन्न स्वागत र जनभेटघाट कार्यक्रमहरूमा प्राप्त जनसहभागिता उत्साहजनक रहेको बताउनुभयो।
उहाँले आफूले प्रस्ताव गरेको र निर्माण शुरू गरिएको मध्यपहाडी लोकमार्ग बागलुङ जिल्लामा सबैभन्दा लामो दूरीमा रहेको उल्लेख गर्दै माओवादी केन्द्र सरकारमा रहँदा पूर्व–पश्चिम चुरे करिडोरमार्फत राष्ट्रलाई एकताबद्ध गर्ने प्रयास गरिएको स्पष्ट गर्नुभयो।
अध्यक्ष प्रचण्डले बागलुङको विकास आवश्यकताअनुसार नगरपालिका र जिल्लाले अघि सारेका योजनाहरूमा पार्टी र नेतृत्वको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।