ट्रेन्डिङ

Logout

नेपालमा गणतन्त्र र राजतन्त्रको विवाद: युथ कांग्रेसले आयोजना गर्दैछ अक्सफोर्ड शैलीको खुला बहस

8.6k Shares

काठमाडौं। लामो समयदेखि नेपाली राजनीतिमा गहिरिएको बहस—गणतन्त्र राम्रो कि राजतन्त्र?—अब युथ कांग्रेस नेपालको मञ्चमा खुला बहसको रूपमा प्रस्तुत हुँदैछ। आउँदो शुक्रबार, दिउँसो ३ बजे ज्ञानेश्वरस्थित मिड भ्याली इन्टरनेशनल कलेजमा आयोजना हुन लागेको अक्सफोर्ड शैलीको वादविवाद कार्यक्रममा दुई फरक राजनीतिक ध्रुवका प्रतिनिधिहरू आमनेसामने हुने भएका छन्।

"गणतन्त्रले नेपाली जनतालाई राजतन्त्रभन्दा बढी लाभ पुर्‍याउँछ" भन्ने विषयमा हुने बहसमा एकातिर गणतन्त्र पक्षबाट नेकपा (एमाले) की नेत्री उषा किरण तिमिल्सिना र नेपाल विद्यार्थी संघका नेता विनोद राज जोशी उत्रने छन्। अर्कोतिर, राजतन्त्रको पक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री शरद राज पाठक र राप्रपा निकट विद्यार्थी नेता जयप्रकाश बगालेले आफ्नो दृष्टिकोण राख्नेछन्।

देशमा गणतन्त्र घोषणा भएको डेढ दशक बितिसक्दा पनि त्यसले अपेक्षित लाभ दिन सकेको छैन भन्ने आलोचना भइरहेका बेला यस्ता बहसले वैचारिक स्पष्टता दिन सक्ने आशा गरिएको छ। युथ कांग्रेसकी सभापति याजस्वी राईका अनुसार, राजनीतिक प्रणालीप्रति आम नागरिकमा उठेका प्रश्न र द्विविधालाई संबोधन गर्न खुला र तर्कसंगत बहस आवश्यक छ भन्ने सोचका साथ यो कार्यक्रम गरिएको हो।

राजनीतिक विमर्शमा खडेरी महसुस भइरहेका बेला यस्तो शैलीमा आयोजना हुन लागेको बहसले, नारा र भावनाभन्दा बाहिर निस्केर, नीति र मूल्यमा आधारित संवादलाई टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार