रूकुम पश्चिम। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईलाई ‘सबैभन्दा बुद्धि नभएको डाक्टर’ भन्दै तीखो टिप्पणी गरेका छन्।
बुधबार रूकुम पश्चिममा आयोजित पत्रकार सम्मेलनमा पूर्वसहयात्री भट्टराईसँग पार्टी एकताको सम्भावनाबारे सोधिएको प्रश्नमा प्रचण्डले उनलाई ‘मान्छेले बुद्धि नभएको डाक्टर भनेर चिन्ने’ भन्दै एकता असम्भव रहेको बताए। “त्यस्तासँग कसरी एकता गर्ने?” उनले प्रश्न गरे।
प्रचण्डले अघिल्लो निर्वाचनमा गोरखाबाट उम्मेदवारी दिँदा पार्टी एकताको लक्ष्य राखिएको स्मरण गरे। “नारायणकाजी, म र बाबुरामले चुनाव मात्र होइन, पार्टी पनि एक गर्ने भनेका थियौँ। तर, उहाँले कम्युनिष्ट नाम सुन्नै नचाहने, कम्युनिष्ट पार्टी र मार्क्सवाद नभन्ने अडान राखेपछि के गर्ने? बाबुरामका लागि मर्ने?” उनले भने।
उनले भट्टराई ‘खिइँदै गएर प्रतिक्रियावादीसँग मिल्न पुगेको’ आरोप लगाए। “खिइँदा–खिइँदा प्रतिक्रियावादीसँग मिसिनुभयो। तर, प्रतिक्रियावादीले पनि पत्याउन छाडे। बाबुराम देशभर हाँसोको पात्र बनेका छन्। कस्तो बुद्धि नभएको डाक्टर!” प्रचण्डले थपे।
उनले भट्टराईसँग रहेकाहरू माओवादी केन्द्रमा फर्किने दाबीसमेत गरे।