ट्रेन्डिङ

Logout

माओवादी अब कसैको बैसाखी बन्दैन, ०८४ मा पहिलो पार्टी बन्ने: प्रचण्ड

7.3k Shares

पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी अब कुनै पनि दलको बैसाखी नबन्ने निष्कर्षमा पुगेको बताउनुभएको छ। शनिबार पाँचथरको फिदिममा माओवादी केन्द्रले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो उद्घोष गर्नुभयो। 


“२०७४ मा एमाले र २०७९ मा कांग्रेसको बैसाखी बन्यौँ। हाम्रै सहयोगले ती दलहरू पहिलो पार्टी बने, पटक–पटक सरकारमा पुगे। तर, उनीहरूले हाम्रो योगदानको कदर गरेनन्, बरु हामीलाई सिध्याउन खोजे,” प्रचण्डले भन्नुभयो। 


सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेकाले जनताको समर्थन माओवादी केन्द्रप्रति बढिरहेको उहाँको दाबी छ। “पछिल्लो समय सरकारबाट बाहिरिएपछि जनताको विश्वास हामीप्रति बढेको छ। हिमाल, पहाड र तराईका जनताको समर्थनले ०८४ को निर्वाचनमा हामी पहिलो पार्टी बन्ने निश्चित छ,” उहाँले भन्नुभयो। 


प्रचण्डले २०६४ मा माओवादी पहिलो पार्टी बने पनि जनभावनाअनुसार काम गर्न नसक्दा विश्वास घटेको स्वीकार गर्नुभयो। तर, पछिल्लो समय आफूले उठाएका मुद्दाहरूले जनताको मन पुनः माओवादीप्रति फर्किएको उहाँको जिकिर छ। 


राष्ट्रिय गौरवका आयोजनाहरू सञ्चालनका लागि आफूले विशेष पहल गरेको दाबी गर्दै प्रचण्डले माओवादीको योगदानलाई जनताले बुझेको बताउनुभयो। कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल, कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङवोसहितका नेताहरूले सम्बोधन गर्नुभएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार