सुनसरी। भारतको बिहार राज्य अन्तर्गत अररिया जिल्लाको फुलकाहा बजारमा आज बिहान एक युवकको गोली हानी हत्या गरिएको छ। नेपाल सीमा नजिकको यो घटनाले दुबै देशका नागरिकमा त्रास फैलिएको छ।
स्थानीय प्रहरीका अनुसार, हत्या गरिएको युवक २१ वर्षीय दीपक कुमार गुप्ता हुन्, जो फुलकाहा बजार नजिक फेलकाहा क्षेत्रमा व्यवसाय गर्दै आएका अशोक कुमार गुप्ताका छोरा हुन्। बिहान ७ बजे तिर गोली हानी हत्या गरिएको बताइएपनि घटनाको स्पष्ट कारण अझै खुल्न सकेको छैन।
हत्या पश्चात दीपकको शव मधुरा स्कुल नजिकै फ्यालिएको अवस्थामा फेला परेको थियो। घटनाको जानकारी पाएलगत्तै फुलकाहा थाना प्रहरी टोली घटनास्थल पुगेको थियो र अनुसन्धान सुरु गरिएको छ।
स्थानीय बासिन्दा तथा व्यापारीहरूले सीमावर्ती क्षेत्रमा बढ्दो आपराधिक गतिविधिबाट चिन्ता व्यक्त गरेका छन्। नेपाली सीमा नजिकै भएको यस घटनाले सुरक्षा चुनौतीबारे पुनर्विचार गर्नुपर्ने अवस्था देखिएको छ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ र स्थानीय प्रशासनले हत्यारा पहिचान र पक्राउका लागि अनुसन्धान तीव्र बनाएको जनाएको छ।