काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको अदालतको अवहेलना मुद्दाको प्रारम्भिक सुनुवाइ सकिएको छ।
न्यायाधीशद्वय सपना मल्ल प्रधान र नित्यानन्द पाण्डेको इजलासले अधिवक्ताहरू अनन्तराज लुइँटेल, अभिमा उप्रेती र विशाल थापाले दायर गरेको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गरेको हो। गत आइतबार सर्वोच्च प्रशासनले थापाविरुद्धको मुद्दा दर्ता गरेको थियो।
वैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रममा थापाले संवैधानिक आयोगका पदाधिकारीहरूको नियुक्ति सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको कार्यशैलीमाथि प्रश्न उठाएका थिए। उनले भनेका थिए, “सम्मानित अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका विषयलाई दुई–तीन वर्षदेखि ‘तँलाई हान्दिऊँ’ भन्दै झुलाइरहेको छ। कहिले हेर्दाहेर्दै, कहिले भ्याइनभ्याइ, कहिले भोलि–पर्सी भन्छ। यसले अदालतको विश्वसनीयतामाथि प्रश्न उठ्छ।”
थापाको यही अभिव्यक्तिलाई आधार बनाएर अधिवक्ता लुइँटेलसहितले सर्वोच्चमा अवहेलना मुद्दा दर्ता गरेका हुन्।
गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, संवैधानिक नियुक्ति विवादमा टिप्पणी विवादास्पद