ट्रेन्डिङ

Logout

गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, संवैधानिक नियुक्ति विवादमा टिप्पणी विवादास्पद

6.9k Shares

काठमाडौँ, १४ वैशाख। नेपाली काँग्रेसका महामन्त्री गगन थापाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ। संवैधानिक निकायमा ५२ जनाको नियुक्तिविरुद्धको रिटमा अदालतको भूमिकामाथि थापाले उठाएको प्रश्नलाई लिएर यो मुद्दा दायर गरिएको हो। अधिवक्ताहरू अनन्तराज लुइँटेल, अभिमा उप्रेती र विशाल थापाले दायर गरेको उक्त मुद्दा आज दर्ता भएको छ। मुद्दाको प्रारम्भिक सुनुवाइका लागि मङ्गलबार पेशी तोकिएको छ।


थापाले अध्यादेशमार्फत् संवैधानिक निकायमा गरिएको ५२ जनाको नियुक्तिविरुद्धको रिटमा सर्वोच्च अदालतले ‘तँलाई हान्दिऊँ’ भन्दै ढिलासुस्ती गरेको टिप्पणी गरेका थिए। लोकतन्त्र दिवसको अवसरमा आयोजित ‘आजको लोकतन्त्र: अवसर र चुनौती’ विषयक संवाद कार्यक्रममा उनले भने, “सम्मानित अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका विषयलाई अढाइ–तीन वर्षदेखि ‘तँलाई हान्दिऊँ, हान्दिऊँ’ भन्दै झुलाइरहेको छ। कहिले हेर्दाहेर्दै, कहिले भ्याइनभ्याइ, कहिले भोलि–पर्सी भन्दै समय लम्ब्याइन्छ।

यसले अदालतप्रतिको विश्वसनीयतामाथि प्रश्न उठ्छ। संवैधानिक नियुक्तिको वैधानिकता जाँच्न चार–साढे चार वर्ष लाग्छ? आइतबार, शुक्रबार, भ्याइनभ्याइ भन्दै अदालतले यो विषयलाई जसरी डिल गरेको छ, त्यसले अदालतको विश्वसनीयता कायम रहन्छ?”


तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले अध्यादेशमार्फत् ५२ जना संवैधानिक पदाधिकारी नियुक्त गरेको थियो। उक्त नियुक्तिविरुद्ध २०७७ मङ्सिर १ मा सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो। उक्त मुद्दा हाल प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको इजलासमा हेर्दाहेर्दैमा छ। आगामी वैशाख १८ गते उक्त रिटको सुनुवाइका लागि पेशी तोकिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार