ट्रेन्डिङ

Logout

प्रधानमन्त्री ओली र भारतका कृषिमन्त्री चौहानबीच शिष्टाचार भेट, कृषि र आर्थिक विकासमा सहकार्यको जोड

7.3k Shares
काठमाडौँ– नेपाल भ्रमणमा रहनुभएका भारतका कृषि तथा किसान कल्याणमन्त्री शिवराजसिंह चौहानले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को कृषिमन्त्रीहरूको बैठकमा सहभागी हुन नेपाल आउनुभएका मन्त्री चौहानले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा उक्त भेट गर्नुभएको हो।
 
भेटका क्रममा मन्त्री चौहानले नेपाल र भारतबीचको परम्परागत सम्बन्धको महत्त्व उल्लेख गर्दै दुवै देशले कृषिको आधुनिकीकरण, खाद्य सुरक्षा र आर्थिक विकासका लागि संयुक्त रूपमा काम गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले द्विपक्षीय सम्झौता र संयुक्त कार्यसमूहहरूलाई गति दिनुपर्ने बताउँदै साना–साना विवाद छाडेर महत्त्वपूर्ण विषयमा समान चिन्ताका साथ तीव्रतापूर्वक अघि बढ्न आफू तयार रहेको धारणा राख्नुभयो। हालै थाइल्याण्डको बैंककमा भएको प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटले दुई देशबीच सकारात्मक भविष्यको आधार तय गरेको उहाँले उल्लेख गर्नुभयो।
 
प्रधानमन्त्री ओलीले कृषिलाई मानवीय जीवन रक्षा र उद्यमशीलता विकासको आधारभूत क्षेत्रका रूपमा चित्रण गर्दै यसको आधुनिकीकरण र आर्थिक प्रगतिका लागि दुई छिमेकी मुलुकले सहकार्य गर्नुपर्नेमा सहमति जनाउनुभयो। उहाँले थाइल्याण्डमा भारतीय प्रधानमन्त्री मोदीसँग भएको भेटले आपसी विश्वासको वातावरण सिर्जना गरेको बताउँदै अब इतिहास वा भावनामा मात्र सीमित नरही आर्थिक विकासका लागि संयुक्त प्रयास गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। बदलिँदो विश्व परिवेशलाई ध्यानमा राखी त्यसबाट उत्पन्न हुन सक्ने चुनौतीहरूलाई सम्बोधन गर्न राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय हितका लागि एकजुट हुनुपर्ने उहाँको भनाइ थियो।
 
भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसहितका व्यक्तिहरू सहभागी थिए। (रासस)
फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार