ट्रेन्डिङ

Logout

"नेपालीहरूको रुसी सेनामा खोजीमा सरकारको प्रयास : प्रदीप पौडेलको विचार"

8.9k Shares

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले सरकारले रुसी सेनामा गएको नेपालीहरूको खोज्ने प्रयत्न समेत नगरेको बताएका छन् ।

रुसमा नेपाल आउने चाहनमा तड्पिएर बसेका नेपालीहरूलाई फिर्ता ल्याउने काममा पनि सरकार गम्भीर नभएको सांसद पौडेलको भनाई थियो । सोमवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै उनले ती नेपालीहरूलाई नेपाल ल्याउन प्रयास किन नगरेको भनी सरकारलाई प्रश्न समेत गरे ।

करिब ३ सय बढी रुसी सेनामा कार्यरत नेपालीहरू बेपत्ता भएको तथ्याङ्क आफूले पाएको उल्लेख गर्दै सांसद पौडेलले त्यसको खोजी गर्न समेत सरकारले पहल नलिएको जिकिर गरे । उनले युक्रेनी सेनामा पनि नेपालीहरू रहेको कुरा युक्रेनले सार्वजनिक गरेको भन्दै त्यसप्रति पनि सरकारले चासो नदिएको बताए ।

उनले केही समय अघि हमासले बन्धक बनाएको विपिन जोशीको अवस्था अहिलेसम्म पत्ता नलागेको बताए । उनले भने ‘नेपालले एउटा नेपाली नागरिकलाई उसको अवस्था पत्ता लगाएर नेपाल ल्याउन सकेको छैन । पछिल्लो समय अर्को कुरा व्यापक ढंगले आइरहेको छ । नेपालीहरू रुसी सेनामा छन् भन्ने कुरा सरकारलाई थाहा छ । तर नेपालीहरू कति संख्यामा रुसी सेनामा छन्, उनको अवस्था के छ, उनका आफन्तहरू कुन पीडामा बाँचिरहेका छन् ? भन्ने कुरामा सरकार बेखबर छ ।’

उनले नेपालीहरू रुसी सेनामा छन् भन्ने थाहा भएपनि कति संख्यामा छन् भन्ने बारेमा सरकारलाई थाहा नभएको बताए ।

उनले सरकारले बेखबर मात्र होइन सरकारले खोजी गर्ने प्रयत्न नै नगरेको बताए ।

उनले भने ‘अघिल्लो परराष्ट्रमन्त्रीज्युले समय मिलाउनु भयो । पछिल्लो पराष्ट्रमन्त्रीले रुसी विदेशमन्त्रीसँग वार्ता गर्नुभयो, संवाद गर्नुभयो । अनुरोध गर्नुभयो कि हाम्रो सेना फिर्ता गरिदेऊ । माननीय अर्थमन्त्रीज्यूले रुसी राजदूतलाई बोलाएर भेट्नुभयो । राजदूत महोदयले जवाफ दिनुभयो–तपाईँका नागरिक आधिकारिक रुपमा हाम्रा सेनामा गएका होइनन् । उनीहरु फर्कन पनि चाहँदैनन् । त्यो शब्द कूटनीतिक मर्यादाभित्र पर्छ कि पर्दैन ? त्यसैले सरकारले यसको बारेमा एकिन तथ्याङ्क आजसम्म निकाल्न सकेको छैन ।’

उनले उक्त क्षेत्रमा काम गर्ने केही स्वयमसेवीहरुलाई भेटेको बताए । उनीहहरूको भनाइको आधारमा उनले एउटा विवरण प्राप्त भएको बताउदै उनले भने ‘कम्तीमा पनि रुसी सेनामा ७ सय नेपाली छन् । तीमध्ये ४० जनाको मृत्यु भइसकेको छ । नेपालमा त्यो लास आउन नसकेर मृतकका परिवारले कुशको प्रतीक बनाएर उहाँहरूको कृयाकर्म गरिसक्नुभएको छ । ११७ जना घाइते छन् । यो मैले कम्तीमा नेपालमा कन्टयाक्ट भएकाहरूको तथ्याङ्क बनाउँदैछु । करिब ३ सय बेपत्ता छन् । अनि थुप्रै व्यक्तिहरू देश फर्कनका लागि फारम भरेर बसेका छन् ।’

उनले रुसमा मात्रै होइन, युक्रेनी सेनामा पनि बन्दीका रुपमा नेपालीहरू रहेको कुरा युक्रेनले नै सार्वजनिक गरेको बताए ।

उनले भने ‘नेपालको परराष्ट्र मन्त्रालय, यसको संयन्त्रले नेपालीहरूको उद्धार गर्ने काममा निम्ति अहिलेसम्म के गरेको छ ? सरकारले गर्न सक्दैन भने सरकारले मानव अधिकारवादी संस्थाहरूलाई अनुरोध गर्नसक्छ । रेडक्रसलाई अनुरोध गर्नसक्छ । युएनलाई अनुरोध गर्नसक्छ । नेपाली ल्याउनका लागि सरकारको जुन ढंगको पहल हुनुपर्ने हो, त्यो पहल भएको अवस्था छैन । म यतातिर सरकारको गम्भीर रुपमा ध्यान आकृष्ट गर्न चाहन्छु । ’

सांसद पौडेलले सरकारले युएनलगायतका मानव अधिकारवादी संघ, संस्थासँग आग्रह गरेर भएपनि रुस र युक्रेनको सेनामा कार्यरत नेपालीहरूलाई फिर्ता ल्याउन पहल गर्नुपर्ने धारणा समेत राखे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार