ट्रेन्डिङ

Logout

देवानगञ्जमा १३ किलो ५२० ग्राम गाँजासहित दुई जना पक्राउ, प्रहरीको सक्रियता बढ्दै

117 Shares

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ स्थित देवानगञ्ज–घुस्की भित्री सडकखण्डबाट प्रहरीले १३ किलो ५२० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। लागूऔषध ओसारपसार नियन्त्रण तथा गैरकानुनी गतिविधिविरुद्ध प्रहरीले सक्रियता बढाइरहेका बेला गाँजासहित दुई जना पक्राउ परेका हुन्।

हिजाे मंगलबार साँझ करिब ७ः३० बजे इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरी टोलीले देवानगञ्जबाट घुस्कीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४६ प १७४३ नम्बरको मोटरसाइकल रोकी जाँच गर्ने क्रममा गाँजाजस्तो देखिने पदार्थ फेला पारेको थियो। जाँचका क्रममा उक्त पदार्थको तौल १३ किलो ५२० ग्राम रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सुनसरीको हरिनगर गाउँपालिका–६ का २६ वर्षीय लुकमान अंसारी र भारतको पूर्णिया जिल्ला, राजदमपुर पञ्चायत वडा नं. ९ का २८ वर्षीय एमलि मझाल रहेका छन्। प्रहरीले गाँजा र मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएको जनाएको छ।

इलाका प्रहरी कार्यालय देवानगञ्जमा प्रहरी निरीक्षक प्रकाश पराजुलीले कमाण्ड सम्हालेपछि लागूऔषध ओसारपसार, तस्करी, झैझगडा तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रणमा प्रहरीको सक्रियता बढेको स्थानीयस्तरमा चर्चा हुन थालेको छ।

प्रहरी निरीक्षक पराजुलीको नेतृत्वमा शंकास्पद गतिविधिमाथि निगरानी, नियमित गस्ती तथा सूचना संकलनलाई प्रभावकारी बनाउँदै शान्ति सुरक्षा कायम गर्ने प्रयास भइरहेको बताइएको छ। गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिहरूमाथि निगरानी बढाउनुका साथै विभिन्न मुद्दामा संलग्न तथा फरार अभियुक्तहरूलाई समेत खोजी गरी नियन्त्रणमा लिने कार्यलाई प्राथमिकता दिइएको जनाइएको छ।

सीमावर्ती क्षेत्रसँग जोडिएको देवानगञ्जमा लागूऔषध ओसारपसार, अवैध तस्करी तथा आपराधिक गतिविधि नियन्त्रण गर्नु प्रहरीका लागि चुनौतीपूर्ण विषय हो। यस्तो अवस्थामा प्रहरीको सक्रिय उपस्थिति, प्रभावकारी गस्ती र स्थानीय नागरिकसँगको समन्वयले शान्ति सुरक्षा कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।

प्रहरी निरीक्षक पराजुलीको नेतृत्वमा अपराध नियन्त्रण र कानुन कार्यान्वयनलाई निरन्तरता दिन सके देवानगञ्ज क्षेत्रमा सर्वसाधारणले सुरक्षित वातावरणको अनुभूति गर्न सक्ने अपेक्षा गरिएको छ। 

लागूऔषध ओसारपसार तथा अन्य गैरकानुनी गतिविधिविरुद्ध प्रहरीले थालेको अभियानलाई निरन्तरता दिन सके सीमावर्ती क्षेत्रमा शान्ति सुरक्षा थप सुदृढ हुने विश्वास गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार