ट्रेन्डिङ

Logout

सुनसरीमा मोटरसाइकलसहित २९१ ट्याब्लेट लागूऔषध बरामद

78 Shares

सुनसरी । सुनसरीको भोक्राह नरसिंह गाउँपालिका–४ स्थित नहर चोक नजिकबाट सशस्त्र प्रहरीले मोटरसाइकलसहित २९१ थान प्रतिबन्धित लागूऔषध बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वार्टर सुनसरीका अनुसार कात्तिक ४ गते दिउँसो करिब २:३० बजे विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरीको गाडी मोबाइल टोलीले पुरानो स्टार होटल नजिक पार्किङ गरिएको प्रदेश १–०२–०४७ प १४७२ नम्बरको सेतो–कालो रङको एनएस २०० सीसी पल्सर मोटरसाइकल फेला पारेको थियो।

सशस्त्र प्रहरीका अनुसार मोटरसाइकलका चालक भनिएका व्यक्ति नजिकैको भवनभित्र प्रवेश गरी चेन गेट लगाएर बसेका थिए। पटक–पटक बोलाउँदा पनि बाहिर नआएपछि मोटरसाइकललाई पूर्व–पश्चिम राजमार्गतर्फ करिब १५ देखि २० मिटर दक्षिण सारिएको थियो।

त्यसपछि करिब ५० देखि ५५ जनाको समूह भेला भई सुरक्षाकर्मीको काममा अवरोध पुर्‍याएको सशस्त्र प्रहरीको विवरणमा उल्लेख छ। दिउँसो करिब २:४५ बजे प्रहरी चौकी चिरौलीबाट प्रहरी हवल्दार रमेश सिंहको नेतृत्वमा दुई जनाको टोली घटनास्थलमा पुगेको थियो।

मोटरसाइकल जाँच गर्ने क्रममा केही स्थानीयले बरामद लागूऔषध लुट्ने तथा प्रमाण नष्ट गर्ने प्रयास गरेको सशस्त्र प्रहरीको दाबी छ। सोही क्रममा प्रहरी प्रशासनविरुद्ध नाराबाजी गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलेमतोमा फसाइएको भन्ने आरोपसहितका हल्ला फैलाइएको पनि सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीको विवरणअनुसार, लागूऔषध रहेको कालो प्लास्टिक भुइँमा खसेपछि सशस्त्र प्रहरी सहायक हवल्दार नरबहादुर खड्काले उठाएर मोटरसाइकल भएकै स्थानमा राखेका थिए। त्यसपछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी सहायक निरीक्षक अशोक खवासको नेतृत्वमा थप आठ जनाको टोली घटनास्थलमा पुगेको थियो। टोलीले जाँच गर्दा तीन प्रकारका प्रतिबन्धित लागूऔषध फेला परेको जनाइएको छ।

बरामद लागूऔषधमा नाइट्राजेपाम (Nitrozepam Tablet-10) ९९ थान, ट्रामाडोल (Tramadol Tablet) १६० थान र स्पास्मो (Spasmo Tablet) ३२ थान रहेका छन्। यसरी कुल २९१ थान ट्याब्लेट बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद मोटरसाइकल र लागूऔषधलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको छ।

जिल्लामा पछिल्लो समय लागूऔषध तथा तस्करी नियन्त्रणका लागि सुरक्षाकर्मी सक्रिय रूपमा परिचालित भइरहेका बेला यस्ता घटनालाई लिएर अतिरञ्जित प्रचारप्रसार हुँदा सुरक्षाकर्मीको मनोबल कमजोर पार्ने र सर्वसाधारणमा भ्रम सिर्जना गर्ने अवस्था उत्पन्न हुन सक्ने सुरक्षा स्रोतको भनाइ छ।

घटनामा संलग्न व्यक्तिको पहिचान, लागूऔषधको स्रोत र घटनाक्रमबारे थप अनुसन्धानबाट खुल्ने विषय बाँकी छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार