ट्रेन्डिङ

Logout

प्रेस काउन्सिलका अध्यक्ष श्रेष्ठमाथि धम्कीपूर्ण व्यवहार भएको काउन्सिलको दाबी

312 Shares

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष उमेश श्रेष्ठ र काउन्सिलका कर्मचारीमाथि दुर्व्यवहार भएको काउन्सिलले जनाएको छ।

काउन्सिलले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार नेपाल पत्रकार महासङ्घको नेतृत्वसँग लोककल्याणकारी विज्ञापनका विषयमा भएको छलफलका क्रममा अध्यक्ष श्रेष्ठलाई लक्षित गरी धम्कीपूर्ण तथा अपमानजनक व्यवहार भएको हो।

छापामाध्यम बचाउ सुझाव कार्यदलका मागका विषयमा मंगलबार दिउँसो अध्यक्ष श्रेष्ठको कार्यकक्षमा छलफल भइरहेको थियो। उक्त छलफलका क्रममा महासङ्घ र कार्यदलका तर्फबाट सहभागी केही व्यक्तिले काउन्सिलका कर्मचारीमाथिसमेत अपमानजनक व्यवहार गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रेस काउन्सिलका सदस्यहरू नम्रता शर्मा, रविराज बराल, उपासना घिमिरे र प्रकाशभक्त माथेमाले हस्ताक्षर गरेको विज्ञप्तिमा संस्थागत छलफलका क्रममा धम्कीपूर्ण भाषा प्रयोग गर्नु स्वीकार्य नहुने स्पष्ट पारिएको छ।

काउन्सिलले पेसागत माग राख्ने तथा आफ्ना विषयमा आवाज उठाउने अधिकारको सम्मान गर्ने जनाएको छ। तर संस्थागत संवाद र छलफलका क्रममा सबै पक्षले मर्यादित, जिम्मेवार र संयमित व्यवहार गर्नुपर्नेमा जोड दिएको छ।

काउन्सिलले छलफल तथा संवादलाई सकारात्मक र संस्थागत ढंगले अघि बढाउन सम्बन्धित सबै पक्षलाई आग्रहसमेत गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार