ज्ञानेन्द्र शाह ले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति तीव्र असन्तुष्टि प्रकट गर्दै ‘खराब पक्ष बोकेको व्यवस्था फाल्नुपर्ने’ धारणा सार्वजनिक गरेका छन्। बुधबार जारी भिडियो सन्देशमार्फत उनले देश अस्वाभाविक छटपटी र अन्योलको भुमरीमा फसेको टिप्पणी गर्दै राष्ट्रिय समस्या समाधान नगरी चुनावतर्फ जानु उपयुक्त नहुने जिकिर गरे।
उनले जुनसुकै व्यवस्थाका असल पक्षलाई अंगीकार गर्नुपर्ने तर खराब पक्षलाई त्याग्नुपर्ने बताउँदै देशको भू–बनोट र सामाजिक चरित्र सुहाउँदो प्रणालीले मात्र सकारात्मक परिणाम दिनसक्ने उल्लेख गरे। प्रजातन्त्रमा आवधिक निर्वाचन स्वाभाविक प्रक्रिया भए पनि वर्तमान विषम परिस्थितिमा निर्वाचनको औचित्यमाथि पुनर्विचार आवश्यक रहेको उनको संकेत थियो। पहिले राष्ट्रिय सहमति, समझदारी र समस्या समाधानको स्पष्ट आधार तयार पारेर मात्र चुनावमा जानुपर्ने उनले जोड दिए, अन्यथा निर्वाचनपछि द्वन्द्व र खिचातानी दोहोरिने जोखिम रहने चेतावनी पनि दिए।
वर्तमान राजनीतिक नेतृत्वप्रति लक्षित गर्दै उनले ‘आलोपालो र भाग लगाएर खाने’ मानसिकताले देश नबन्ने टिप्पणी गरे। अधिकारमात्र खोज्ने तर कर्तव्यबोध नदेखाउने प्रवृत्तिले राज्यलाई कमजोर बनाएको भन्दै उनले बाध्यात्मक र बाह्य प्रभावमा चल्ने व्यवस्थाबाट सचेत रहन आग्रह गरे। विगतका आन्दोलन र परिवर्तनले देशले के पायो भन्ने आत्मसमीक्षा आवश्यक रहेको उल्लेख गर्दै उनले राष्ट्रिय अस्मिता र अस्तित्वमाथि नै प्रश्न उठिरहेको दाबी गरे।
झापाबाट काठमाडौं फर्किने क्रममा पाएको जनसमर्थनले आफूलाई थप जिम्मेवार बनाएको उल्लेख गर्दै उनले गरिबी र अस्थिरतालाई नेपालको मुख्य शत्रुका रूपमा चित्रित गरे। प्रजातन्त्र दिवसको अवसरमा उनले आफ्ना जिजुबुवा राजा त्रिभुवन तथा ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै विश्वसामु नेपालीको शिर उच्च बनाउने व्यवस्थाको आवश्यकता औंल्याएका छन्। प्रजातन्त्र दिवस बिहीबार देशभर मनाइँदै छ।