काठमाडौँको टोखा नगरपालिका–९ नयाँ बसपार्कनजिकै शनिबार फेला परेको शव महिलाको भएको पुष्टि भएको छ। सुरुमा अनुसन्धान अधिकृतहरूले शव तेस्रोलिंगीको हुनसक्ने अनुमान गरेका भए पनि त्रिवि शिक्षण अस्पतालका चिकित्सकको प्रारम्भिक जाँचपछि शव महिलाकै भएको स्पष्ट भएको हो। पोस्टमार्टम रिपोर्ट भने आइनसकेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेको व्यक्तिको परिचय उदयपुर घर भएका सूर्य मगरका रूपमा खुलेको छ। उनी नयाँ बसपार्कस्थित एक होटलमा भान्सेका रूपमा काम गर्दै आएका थिए।
प्रहरीका अनुसार मृतक महिलाले सूर्य मगरसँग लिएको ५ सय रुपैयाँ सापटी फिर्ता नगरेपछि विवाद भएको थियो। विवादकै क्रममा सूर्यले महिलाको घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
शव शनिबार नयाँ बसपार्क नजिकै सडक छेउमा तन्नामा बेरिएको अवस्थामा फालिएको थियो। मृतक महिलाको पहिचान खुलाउने प्रयास भइरहेको काठमाडौँका एसएसपी रमेश बस्नेतले जानकारी दिए।
पक्राउ परेका सूर्य मगरका अनुसार महिलाले आफूलाई रुकुम घर भएको बताएकी थिइन्। घटनाबारे थप विवरण दिन जिल्ला प्रहरी परिसर काठमाडौँले आज दिउँसो पत्रकार सम्मेलन आयोजना गरेको छ।