4.8k
Shares
बिपी राजमार्गको नेपालथोक–चौकिडाँडा खण्डमा अस्थायी सडक डाइभर्सनका केही भागमा पहिरो खस्दा सवारीसाधनको आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।
मंगलटार प्रहरी चौकीका अनुसार, नेपालथोक क्षेत्रमा हिजो साँझ ५ बजेदेखि गाडी रोकिएका छन्। सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रहरीले सो क्षेत्रमा सवारी सञ्चालन रोक्ने निर्णय गरेको हो।
प्रहरीका अनुसार, रोशीखोला किनारमा निर्माण गरिएका डाइभर्सनहरूमा प्रत्यक्ष क्षति नभए पनि केही स्थानमा माटो र ढुङ्गा खस्दा सवारी सञ्चालनमा कठिनाइ भएको छ। लगातार भइरहेको वर्षाले पहिरो हटाउने काममा समेत बाधा पुर्याएको प्रहरीले जनाएको छ।
स्थानीय प्रशासनले यात्रु र चालकहरूलाई अनावश्यक जोखिम नलिन, सुरक्षित स्थानमै बस्न र मौसमको जानकारी लिएर मात्रै यात्रा सुरु गर्न आग्रह गरेको छ।