केही दिनयता मौसममा आएको परिवर्तनसँगै भारतको उडिसाबाट सुरु भएको ‘मोन्था’ चक्रवातको प्रभाव बिहीबारदेखि मधेस प्रदेशमा पर्ने अनुमानसँगै प्रदेश सरकार उच्च सतर्कतामा जुटेको छ।
प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयको आयोजनामा प्रदेशस्तरीय विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ। मुख्यमन्त्री जितेन्द्र सोनलको अध्यक्षतामा बसेको बैठकमा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता थियो। बैठकमा सम्भावित विपद्को जोखिम न्यूनीकरण र पूर्वतयारीबारे विस्तृत छलफल गरिएको थियो।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबारदेखि शनिबारसम्म प्रदेशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुन सक्ने सम्भावना छ। यस्तो अवस्थामा सर्वसाधारणलाई सतर्क रहन मुख्यमन्त्री सोनलले आग्रह गरेका छन्।
मुख्यमन्त्री सोनलका अनुसार सप्तकोशी, बागमती, कमला, रातु, लखनदेहीलगायत प्रमुख नदीहरूको जलस्तर खतरा रेखाभन्दा माथि जान सक्ने जोखिम रहेको छ। तटीय बस्तीहरूको सुरक्षाका लागि प्रदेश सरकारले आवश्यक सबै तयारी गरिरहेको उनले बताएका छन्।
उनले थपे, “विपद् जोखिम न्यूनीकरणका लागि सरकार अधिकतम प्रयास गर्दैछ र उपलब्ध सम्पूर्ण जनशक्ति तथा स्रोत साधन परिचालन गर्न तयार छ।”