नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेनजी आन्दोलनपछि बनेको परिस्थितिमा संविधानलाई आधार मानेर मात्रै समाधान खोज्नु पर्ने बताएका छन्।
उनका अनुसार संविधानभन्दा बाहिर गएर समाधान खोज्दा निकट भविष्यमा नियन्त्रण बाहिर जाने अवस्था आउन सक्ने खतरा हुन्छ। त्यसैले संविधानको निरन्तरताबारे जेनजी पुस्ताले विशेष ध्यान दिनुपर्ने उनले आग्रह गरे।
भिडियोमार्फत धारणा सार्वजनिक गर्दै उनले लामो संघर्षपछि बनेको संविधानलाई जोगाएर त्यसभित्र आवश्यक आमूल परिवर्तन गर्नुपर्ने बताए।
उनले भने, “२०६२/६३ को आन्दोलनपछि बनेको यो संविधान सजिलै बनेको होइन। यसका लागि गृहयुद्ध, जातीय द्वन्द्वदेखि आदिवासी, जनजाति, दलित, मधेसी, मुस्लिम, अल्पसंख्यक, महिला सबैको माग सन्तुलन मिलाएर मात्रै सम्भव भएको हो। यदि फेरि अधिकार खोसिएको अनुभूति भयो भने परिस्थिती कसैले नियन्त्रण गर्न सक्दैन।”
थापाले सरकार निर्माणमा सहभागी हुन, आन्दोलनको क्रममा भएका हत्या र विध्वंशात्मक गतिविधिको छानबिन गरी दोषीलाई कारबाही गर्ने, बलियो कानुन बनाएर २०४६ यता सार्वजनिक ओहदामा बसेका सबैको सम्पत्ति छानबिन गरी दोषीलाई कारबाहीमा ल्याउने माग पनि राखे।
दोस्रो दिनको विध्वंसात्मक प्रदर्शनमा जेनजी पुस्ताको संलग्नता नरहेकोमा आफू स्पष्ट रहेको बताउँदै उनले कतिपय नयाँ र कतिपय पुरानै अनुहारहरूको भूमिका रहेको खुलासा गरे।


