मङ्गलबारको आन्दोलनपछि पोखरामा जलेका दुई भवनभित्र बुधबार दुई महिलाका शव फेला परेका छन् । शवहरू गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापा र उहाँका भाइ ध्रुव थापाको घरमा भेटिएका हुन् ।
दुवै शवलाई पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको भए पनि आवश्यक कागजात नहुँदा प्रक्रिया अघि बढ्न सकेको छैन ।
पछिल्लो आन्दोलनमा घाइतेहरूको यकिन विवरण संकलन हुन सकेको छैन । अस्पतालका अनुसार उपचारका लागि ल्याइएका २२ मध्ये १६ जना डिस्चार्ज भइसकेका छन् भने बाँकी छ जनाको उपचार भइरहेको छ ।
सुरक्षा निकाय पछि हटेपछि आन्दोलनकारीहरूले पोखरामा ९५ प्रतिशतभन्दा बढी सरकारी कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । यस क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रदेश प्रमुखको कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, मालपोत कार्यालय, वडा कार्यालयहरूदेखि विभिन्न मन्त्री, व्यवसायी र राजनीतिक नेताका घरसम्ममा आगजनी भएको कास्की प्रशासनले जनाएको छ ।
यसैबीच न्यूरोडस्थित भाटभटेनी सुपरमार्केटमा लागेको आगो बुधबारसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । नेपाली सेना परिचालनसँगै बुधबार पोखराको अवस्था सामान्यतर्फ उन्मुख भएको प्रशासनले जनाएको छ ।