ट्रेन्डिङ

Logout

धादिङ कारागारमा कैदीको मृत्यु, सात घाइते; नीलकण्ठ नगरपालिकाभरि कफ्र्यू लागू

5.1k Shares

धादिङ कारागारभित्र कैदीबन्दीहरूले रिहाइको माग गर्दै आगजनी, नाराजुलुस र ढुंगामुढा गरेका थिए । आन्दोलनकै क्रममा गेटको ताला तोड्दै भाग्ने प्रयास भएपछि नियन्त्रणका लागि सेनाले गोली प्रहार गरेको छ ।

फायरिङको क्रममा एक कैदीको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । मृतकको नाम र विवरण सार्वजनिक नभएको अस्पतालले जनाएको छ । घाइतेमध्ये त्रिपुरासुन्दरी–१ का कपिल परियार, देवराज अधिकारी, नीलकण्ठ–७ का रामशरण परियार, गजुरी–८ का मेमबहादुर तामाङ, धुनीबेशी–७ का डम्बरबहादुर दाहाल, गजुरी–७ का कृष्णबहादुर मोक्तान र नेत्रावती डबजोङ–५ का विकास गुरुङ रहेका छन् । उनीहरूको उपचार धादिङ अस्पतालमा भइरहेको छ ।

घटनापछि कारागार परिसरमा सेना र प्रहरीले थप सुरक्षा सतर्कता अपनाएको र स्थिति नियन्त्रणमा लिएको जनाएको छ ।

उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले नीलकण्ठ नगरपालिकाभित्र आज साँझ ५ बजेदेखि अर्को आदेश नभएसम्म कफ्र्यू आदेश जारी गरेको छ । यस अवधिमा धादिङवेशी पूर्वतर्फ इजारा चौतारा, पश्चिममा सल्यानटार सडक, उत्तरमा थोपलखोला र दक्षिणमा अरुङ खोलासम्मको क्षेत्रमा आवतजावत, भेला, जुलुस, सभा तथा प्रदर्शन पूर्णरूपमा प्रतिबन्धित गरिएको छ ।

प्रशासनले कारागार सुरक्षा र जिल्लाको शान्ति–सुरक्षा कायम गर्न कफ्र्यू जारी गरिएको बताउँदै आदेश उल्लंघन गर्नेहरूमाथि कानूनअनुसार कारबाही हुने चेतावनी दिएको छ । तर, अत्यावश्यक सेवाका साधन, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक, मानव अधिकारकर्मी, कूटनीतिक नियोगका सवारीसाधन तथा हवाई टिकट देखाउने यात्रुहरूको आवागमन भने सुरक्षाकर्मीमार्फत सहजीकरण गरिने स्पष्ट गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार