जेनजी प्रदर्शनका क्रममा शीर्ष नेताहरूमाथि आक्रमण बढेपछि सुरक्षाकर्मीले उनीहरूलाई सुरक्षित स्थानमा सार्न थालेका छन् । उच्च सुरक्षा स्रोतका अनुसार, चारवटा सुरक्षा निकाय परिचालित छन् र बालुवाटारसहित विभिन्न स्थानमा पटकपटक सैनिक तथा निजी हेलिकोप्टर अवतरण गरिएका छन् । अन्य स्थानमा रहेका नेताहरू पनि सुरक्षित स्थानमा राखिएको जानकारी दिइएको छ ।
‘पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको घरमा आगजनी भएको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा पनि तनावको स्थिति सिर्जना भएको छ,’ उच्च अधिकृतले बताए । भैंसेपाटीस्थित मन्त्रिक्वार्टरमा समेत पटकपटक हेलिकोप्टर अवतरण गरिएको छ । केही नेतालाई उद्दार गरी लगिएको छ, तर उनीहरू कहाँ सारिएका हुन् भन्ने खुलाइएको छैन ।
प्रधानमन्त्री ओलीले आज साँझ ६ बजे सर्वदलीय बैठक बोलाएका छन्, तर त्यसअघि नै अवस्था नियन्त्रणबाहिर पुगेको छ । यसैबीच, ओलीको गृहजिल्ला झापा र उर्जामन्त्री दिपक खड्काको संखुवासभा स्थित घरमा समेत तोडफोड भएको छ ।
सोमबार जेनजी युवाले गरेको प्रदर्शनमा प्रहरीले दमन गर्दा १९ जना मारिएका र २०० भन्दा बढी घाइते भएका थिए ।