राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसदले राजीनामा दिने भएका छन् । रास्वपा संसदीय दलको बैठकले सांसदहरूलाई राजीनामा गर्न सिफारिस गर्ने तयारी गरेको पार्टी स्रोतले जानकारी दिएको छ ।
संसद्मा रास्वपाका २१ सांसद छन्, जसमा असिम शाहले यसअघि नै राजीनामा दिएका छन् । पार्टी सभापति रवि लामिछानेले सहकारी ठगी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेकाले आफ्ना सांसदलाई माग सम्बोधन नहुँदा राजीनामा दिन तयार बस्न भनेका थिए ।
जेन-जी युवाहरूको प्रदर्शनका क्रममा सोमबार प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको थियो । सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध प्रदर्शनमा उत्रिएका युवाहरूमाथि भएको दमनप्रति रास्वपा ऐक्यबद्ध भएको छ । मंगलबार पनि युवाहरू काठमाडौंसहित देशभर सडकमा प्रदर्शन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा र संसद बिघटनको माग गरिरहेका छन् ।