सिमसिमे झरी परिरहेकै बेला पोखरा सभागृहमा नयाँ पुस्ता (जेनजी)ले स्वतस्फूर्त रूपमा प्रदर्शन गरेका छन् । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयदेखि लिएर नेताहरूको भ्रस्टाचारविरुद्ध उनीहरूले आवाज उठाएका हुन् ।
बिहानैदेखि वर्षा भइरहे पनि बिहान १० बजेदेखि नै जेनजी युवाहरू सभागृहमा भेला भई प्रदर्शन सुरु गरेका थिए । प्रदर्शनमा सहभागीहरूले देशमा नागरिक पीडित भइरहँदा नेताहरू मात्र भ्रष्टाचारमा लिप्त भएको भन्दै आक्रोश पोखेका छन् । पोखराका विभिन्न स्थानबाट आएर सहभागी भएका युवाहरूले अब आफ्नो आवाज सरकारले सुन्नुपर्ने चेतावनी दिएका छन् ।
‘जनता जति खाडीमा, तिमी चाहिँ गाडीमा, रोलेक्स घडी नाडीमा’, ‘दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने’, ‘जनताको आवाज दबाएर स्वतन्त्रता बन्द गर्न पाइँदैन’, ‘भ्रस्ट नेता होसियार’जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका थिए । केहीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध समेत नारा लगाएका थिए भने कतिपयले नेताहरूको नाम नलिएर समूहलाई भड्किन नदिने आग्रह गरेका थिए ।
रेनकोट लगाएर राष्ट्रिय झण्डा र पम्प्लेटसहित उपस्थित युवाहरूले जनताले तिरेको करमा नेताहरू र उनका परिवारले ऐयासी जीवन बिताइरहेको भन्दै कडा आपत्ति जनाए । प्रदर्शनमा सहभागी पोखराका पारस पराजुलीले अहिलेका नेताहरूले नयाँ पुस्तालाई हेपेको भन्दै चुप लागेर बस्दा अवस्था झनै बिग्रिने भएकाले सडकमा उत्रिएको बताए ।
उनका अनुसार, “यो आन्दोलनले नयाँ पुस्ता पनि सचेत छ भन्ने सन्देश दिन खोजेको हो, यसलाई कसैले राजनीतिकरण नगरोस् भन्ने हाम्रो आग्रह हो ।”
त्यस्तै, स्टप करप्सन (भ्रष्टाचार रोक) जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका सन्देश बरालले भने, “नेताहरूले हामीलाई राजनीति गर्दैनन् भनेर सधैं हेपे तर हामी देशप्रति जिम्मेवार छौं भन्ने प्रमाण दिन सडकमा उत्रिएका हौं ।”
प्रदर्शन शान्तिपूर्ण रहोस् भनेर ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।