दुर्घटनामा परेका, कमजोर, रोगी वा अशक्त जनावरलाई सहज रूपमा अस्पताल वा सेल्टरसम्म पुर्याउन सकियोस् भन्ने उद्देश्यले एनिमल नेपालले नेपालगन्ज उपमहानगरपालिकालाई ‘एनिमल एम्बुलेन्स’ हस्तान्तरण गरेको छ।
नेपालगन्जमा आयोजित कार्यक्रममा एनिमल नेपालकी अध्यक्ष शोभा रायमाझीले नगर प्रमुख प्रशान्त विष्टलाई एम्बुलेन्स हस्तान्तरण गर्नुभयो। उहाँका अनुसार हाल नेपालगन्जका विभिन्न स्थानमा चौपाया दुर्घटनामा परेर वा बिरामी भएर घाइते हुँदा उद्धारमा समस्या देखिँदै आएको थियो, जसको समाधान स्वरूप यो एम्बुलेन्स उपलब्ध गराइएको हो।
एम्बुलेन्स ग्रहण गर्दै नगर प्रमुख विष्टले अब दुर्घटनामा परेका वा अशक्त जनावरलाई अस्पताल वा सेल्टरसम्म पुर्याउन सहज हुने बताउँदै सडकमा छाडा चौपायाका कारण हुने दुर्घटनापछि उद्धारमा आउने समस्या घट्ने विश्वास व्यक्त गर्नुभयो।
पशु शाखा प्रमुख अच्युत गौतमले एम्बुलेन्सको अधिकतम् उपयोग गरिने प्रतिवद्धता व्यक्त गर्दै यसले जनावर उद्धार र व्यवस्थापनमा थप सहजता ल्याउने बताए।
हस्तान्तरण कार्यक्रममा उपप्रमुख कमरुद्दिन राई, पशु चिकित्सक डा. आशिष थारु, एनिमल नेपालका डा. अतिश यादव, डा. सजना थापा लगायतको उपस्थिति रहेको थियो।