अछामको तुर्माखाँद गाउँपालिका–६ मा बिहीबार दुई जना किशोरी एउटै रुखको हाँगामा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।
अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले घटनाको प्रारम्भिक जानकारी आए पनि विस्तृत विवरण आउन बाँकी रहेको बताए। प्रहरी निरीक्षकको टोली घटनास्थलमा खटिसकेको प्रजिअ सारुले अनलाइनखबरलाई जानकारी दिए।
गाउँपालिका अध्यक्ष डम्बरबहादुर बिसीका अनुसार, वडा नम्बर ६ का दुई किशोरी घरदेखि झन्डै ५–७ सय मिटरको दूरीमा रहेको वनमा एउटै रुखको हाँगामा मृत फेला परेका हुन्। अध्यक्ष बिसीले भने, “दुवै किशोरी १७ गतेदेखि सम्पर्कविहीन थिए। आफन्तले खोजी गर्ने क्रममा आज बिहान वनमा मृत फेला परेका हुन्।”
मृतकमा एक किशोरी १५ वर्षकी र अर्की १३ वर्षकी रहेको जनाइएको छ। १६ वर्षकी किशोरी विवाहित थिइन् र उनको परिवारका अन्य सदस्य रोजगारीका लागि भारतमा छन्। उनी पनि एक महिना अघि मात्र घर फर्किएकी थिइन्।