सप्तरी जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप असार पहिलो सातादेखि उल्लेखनीय रूपमा बढेको छ। बैंकमा खाता खोल्न र सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि सेवाग्राहीलाई बिहानैदेखि लामो लाइन बस्नुपर्ने बाध्यता भएको हो।
बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म सेवाग्राहीको भीड हुने गरेकाले कार्यालय पुग्ने नागरिकले निकै सास्ती व्यहोर्नु परेको छ। बिहान ८ बजेदेखि टोकन बाँडिने भएकाले टोकन पाउन जिल्लाका विभिन्न पालिकाबाट वृद्धवृद्धादेखि युवासम्म बिहानै सदरमुकाम राजविराज आइपुग्नुपर्ने बाध्यता रहेको छ।
सिमित स्रोत–साधन र जनशक्तिका कारण सेवाग्राहीलाई पटक–पटक कार्यालय धाउनुपर्ने अवस्था छ। रूपनी गाउँपालिकाकी ७९ वर्षीया सुखनी देवी सदाले चार दिनसम्म धाएपछि बल्ल फोटो खिचाउन सफल भएको बताइन्। उनले भनिन्, “हामी विपन्न समुदाय सामाजिक सुरक्षा भत्ताको भरमा छौँ। फोटो खिचाएर राष्ट्रिय परिचयपत्रको प्रक्रिया नपुर्याएसम्म कार्ड नवीकरण भएन भने कसरी जीवन धान्ने भन्ने चिन्ता थियो।”
राजविराज–१६ की बुधनी सदाले पनि दुई दिन कार्यालय धाएर मात्र फोटो खिचाउन सकेको अनुभव सुनाइन्। १८ पालिकामध्ये १४ पालिकाका सेवाग्राहीलाई सदरमुकाम आइपुग्नुपर्ने बाध्यता भएकाले थप समस्या भएको उनको भनाइ छ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले सेवाग्राहीलाई सहज बनाउन प्रयास भइरहेको बताए। उनका अनुसार जनसंख्या बढी भएकाले सेवाग्राहीको चाप बढ्नु स्वाभाविक हो। भीड व्यवस्थापनका लागि शनिबार पनि सेवा दिने तयारी गरिएको छ। हाल दैनिक ३०० देखि ३५० जनाको फोटो खिचिँदै आएको उनले जानकारी दिए।
सेवाग्राहीको भीड बढेपछि लाइन बस्ने ठाउँ समेत अभाव भएको प्रजिअ पोखरेलले बताए। उनका अनुसार १८ पालिकामध्ये ७ पालिकाका सेवाग्राहीले आइतबार, सोमबार र मंगलबार फोटो खिचाउन पाउने व्यवस्था छ भने बाँकी ७ पालिकाका सेवाग्राहीलाई बुधबार, बिहीबार र शुक्रबार दिन तोकिएको छ। बाँकी पालिकाका सेवाग्राहीलाई भने स्थानीय इलाका प्रशासन कार्यालयबाट सेवा दिइँदै आएको छ।
सप्तरीमा हाल ९ नगरपालिका र ९ गाउँपालिका गरी १८ पालिका रहेका छन्।