ट्रेन्डिङ

Logout

उपसभामुख इन्दिरा रानालाई हटाउने प्रक्रिया सुरु

4k Shares

नेकपा एमालेका सांसद राजेन्द्र राईले उपसभामुख इन्दिरा रानालाई हटाउने प्रक्रिया सुरु भएको बताएका छन्। सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, कांग्रेस र एमालेका सांसदहरूले हस्ताक्षरमार्फत रानालाई हटाउन सुरु गरिसकेको छ।

प्रतिनिधिसभा नियमावलीको नियम २१० अनुसार सभामुख वा उपसभामुखले पदअनुकूल आचरण नगरेको देखिएमा सदस्यहरूले पदबाट हटाउन प्रस्ताव लैजान सक्छन्। प्रस्ताव पेश गर्न प्रतिनिधि सभाका हाल कायम सदस्यको एक चौथाई समर्थन आवश्यक पर्छ भने हटाउनका लागि दुई तिहाई बहुमत चाहिन्छ।

हाल प्रतिनिधि सभामा २७४ जना बहाल सदस्य छन्। उपसभामुख हटाउन १८३ सांसदको समर्थन आवश्यक पर्छ। नेपाली कांग्रेस (८८) र नेकपा एमाले (७९) मिलाएर १६७ सांसद पुग्छ, तर १८३ पुग्न अझै १६ सांसदको समर्थन आवश्यक छ।

सत्ता गठबन्धनमा रहेका अन्य दलहरूमा जनता समाजवादी पार्टी (७), जनमत पार्टी (६), लोकतान्त्रिक समावादी पार्टी (४), नागरिक उन्मुक्ति पार्टी (४) रहेका छन्। त्यसैगरी, प्रतिनिधि सभामा नेकपा माओवाद केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी नेपाल ५, नेमकिपा १, जनमोर्चा १, आजपा १ र स्वतन्त्र २ सांसद छन्।

तर, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले उपसभामुखलाई हटाउनेबारे सत्ता गठबन्धनका ठूला दलहरूसँग छलफल नभएको बताएका छन्। जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले भने, “औपचारिक रूपमा प्रस्ताव आएपछि मात्रै छलफल गर्नेछौं।” नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पनि भनिन्, “कांग्रेस र एमालेले केही भनेका छैनन्, उपसभामुख हटाउनेबारे स्पष्ट छैन।”

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार