लहान नगरपालिका–२४ का ८५ वर्षीय फनिलाल यादवको हत्या अभियोगमा प्रहरीले दुई युवकलाई पक्राउ गरी अनुसन्धान जारी राखेको छ। जिल्ला प्रहरी कार्यालय सिरहामा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख अनन्तराम शर्माले धनगडीमाई नगरपालिका–२ भवानीपुरका २३ वर्षीय महेश चौधरी र त्यहीँका १९ वर्षीय प्रशान्त कुमार मण्डल पक्राउ परेका जानकारी दिए।
साउन १४ गते राति धनगडीमाई नगरपालिका–११ आम चोकस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा यादवमाथि धारिलो हतियारले प्रहार भएको थियो। टाउको र कानमा गम्भीर चोट लागेर उनलाई लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पतालमा पुर्याइएको थियो, जहाँ सोही दिन राति ८:२० बजे उनको मृत्यु भयो।
अनुसन्धानका क्रममा घटनास्थल नजिकको सिसिटिभी फुटेजका आधारमा साउन २४ गते खुकुरीसहित महेश चौधरी पक्राउ परे भने साउन २३ गते अभद्र व्यवहार मुद्दामा हिरासतमा रहेका प्रशान्त मण्डललाई पनि पक्राउ गरिएको हो। प्रहरी प्रमुख शर्माले लागुऔषधको समस्या अन्तर्राष्ट्रिय स्तरकै चुनौती भएको र यसको नियन्त्रणका लागि सबैको सहयोग आवश्यक पर्ने बताए।