नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा मौलिक विकासको अभावको प्रमुख कारण विदेशीको अन्धानुकरण भएको बताएका छन्। उनका अनुसार, सिर्जनात्मक ढंगले देशभित्रका सम्भावनाहरूको सदुपयोग गर्न सके, नेपाल छिट्टै आत्मनिर्भर बन्न सक्छ।
भक्तपुरको चाँगुनारायणलाई ‘एभोकाडो सिटी’को रूपमा विकास गर्ने अभियानको समापन कार्यक्रममा प्रचण्डले स्थानीय स्रोत र साधनलाई प्राथमिकता दिँदै विकासको मौलिक मोडेल निर्माण गर्नुपर्नेमा जोड दिए। उनले भने, “हाम्रो सिप, श्रम, स्रोत र साधनलाई आफ्नै तरिकाले अघि बढाउन सकियो भने नेपाल संसारकै सुन्दर देश मात्र नभई मौलिक विकासको नमुना बन्न सक्छ।”
गत साउन १ गते सुरु भएको उक्त अभियानअन्तर्गत चाँगुनारायण नगरपालिकाका प्रत्येक घरपरिवारलाई एभोकाडोका २ वटा बिरुवा निःशुल्क वितरण गरिएको थियो। तीन वर्षसम्म सञ्चालन हुने यो अभियानपछि चाँगुनारायणलाई एभोकाडो सिटीको रूपमा स्थापित गर्ने लक्ष्य राखिएको संयोजक नरेश खड्काले बताए। हाल नेपालको धनकुटा एभोकाडोको राजधानीका रूपमा परिचित छ।