नेपालका ७७ कारागारमध्ये पुरुष ब्लकहरू क्षमताभन्दा औसत ६७ प्रतिशत बढी भरिएका रहेको गृह मन्त्रालयले जनाएको छ। तर महिला बन्दी भने क्षमता भित्रै रहेको तथ्यांकले देखाएको छ।
आज संसदीय समितिको बैठकमा गृह मन्त्री रमेश लेखकले प्रस्तुत गरेको असार मसान्तसम्मको विवरणअनुसार, देशभरका पुरुष ब्लकहरूको क्षमता १६ हजार ६२५ भए पनि त्यहाँ २७ हजार १६८ जना पुरुष बन्दी छन्। यो औसतमा १०० जनाको क्षमता भएको कारागारमा १६७ जनालाई राख्नु परेको स्थिति हो।
महिलातर्फ भने ५० वटा कारागारमा २ हजार ५०१ जनाको क्षमता रहँदा १ हजार ५५० जना मात्रै महिला बन्दी छन्। मन्त्रालयका अनुसार यो क्षमता भित्रै भएकाले महिला ब्लकमा समस्या छैन।
हाल नेपालका ७२ जिल्लामा ७५ कारागार सञ्चालनमा छन्। भक्तपुर, धनुषा, बारा, पूर्वी नवलपरासी र पूर्वी रुकुममा कारागार छैन भने काठमाडौं, दाङ र बाँकेमा दुई/दुई वटा छन्। यी कारागारहरूमा जम्मा २८ हजार ७१८ जना छन्, जसमा थुनुवा १० हजार ४३५ र कैदी १८ हजार २८३ जना छन्।
थुनुवामध्ये ९ हजार ८३९ पुरुष र ५९६ महिला छन् भने कैदीमा १७ हजार ३२९ पुरुष र ९५४ महिला छन्।
यीमध्ये ६५ वर्षभन्दा माथिका ६६ जना ज्येष्ठ नागरिक, ६४ जना आश्रित बालबालिका र १ हजार ४२७ जना विदेशी नागरिक छन्।
हालै कैलाली कारागारमा भएको कैदीबन्दीबीचको झडपमा एकजनाको मृत्यु भएको घटनाबारे गृहमन्त्री लेखकले जानकारी दिँदै घटनापछि प्रहरी प्रशासनको सहज पहुँच भएको र स्थिति सामान्य रहेको बताए। उनले छानबिन प्रतिवेदन प्राप्त भएपछि कानुनी कारबाही र आवश्यक व्यवस्थापकीय कदम चालिने स्पष्ट पारे।