ट्रेन्डिङ

Logout

कर्णाली डेभलपमेन्ट बैँक घोटाला: १०३ जना फरार, उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासबाट

4.1k Shares

बाँकेको नेपालगन्जमा रहेको कर्णाली डेभलपमेन्ट बैँक लिमिटेडमा भएको ३ अर्ब २० करोड ११ लाख ५४ हजार १५७ रुपियाँको घोटाला प्रकरणमा १०९ जना प्रतिवादी बनाइएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय बाँकेले उच्च अदालत तुलसीपुरको नेपालगन्जस्थित वाणिज्य इजलासमा साउन १४ गते मुद्दा दायर गरेको थियो। उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासका अनुसार, मुद्दामा चार जना पक्राउ परेका छन्, दुई जनाको मृत्यु भइसकेको छ, र १०३ जना फरार छन्।

अदालतका सूचना अधिकारी बलबहादुर विष्टका अनुसार, पक्राउ परेका बैँकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय, पूर्वअध्यक्ष पशुपतिदयाल मिश्रा, र वित्तशाखा प्रमुख बेदप्रकाशसिंह ठकुरीलाई बुधबार पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ। यस्तै, नेपाल राष्ट्र बैँकका पूर्वकर्मचारी भुवन बस्नेतलाई २ लाख रुपियाँ धरौटीमा रिहा गरिएको छ। यो आदेश उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासका न्यायाधीशद्वय चन्द्रबहादुर सारु र पुनमसिंह चन्दको संयुक्त इजलासले दिएको हो।

अदालतको ४५ पृष्ठ र ३२ बुँदाको आदेशमा फरार १०३ जनाविरुद्ध कानुनअनुसार ३५ दिने म्यादसहित पक्राउ पुर्जी जारी गर्ने निर्णय भएको छ। फरार सूचीमा बैँकका उच्च कर्मचारी, सञ्चालक, राजनीतिक दलका नेता, चिकित्सक, र लेखापरीक्षकहरू समावेश छन्। फरार रहेकाहरूमा बैँकका अध्यक्ष डा. ओमप्रकाश मिश्रा, पूर्वप्रमुख कार्यकारी अधिकृत दिनेशकुमार रावत, निरजविक्रम शाह, विष्णुप्रसाद कक्षपति, नेपालगन्ज शाखा प्रमुख दीपा थापा, डुडुवा गाउँपालिका–६ का वडाध्यक्ष मोहनराम मिश्र, वरिष्ठ चिकित्सक डा. उषा राणा शाह, राजनीतिक नेता ओमप्रकाश आजाद, ओमप्रताप राणा, र लेखापरीक्षकहरू विनमकुमार श्रेष्ठ, भुवनप्रसाद गैरे, तुलाराम कुर्मी, केशवप्रसाद न्यौपाने, र शुरेशचन्द्र श्रेष्ठ छन्।

फरार सूचीमा रहेका १०५ मध्ये राप्ती पोलिमर्स प्रालिका सञ्चालक महेशजङ्ग थापा (२०७८ वैशाख ३१) र बैँकका तत्कालीन कर्मचारी धनन्जय कश्यप (२०८२ वैशाख ५) को मृत्यु भइसकेको छ। बाँकी १०३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गर्न एक–दुई दिन लाग्ने सूचना अधिकारी विष्टले बताए। राष्ट्र बैँकको व्यवस्थापन समूहका सदस्य उपनिर्देशक जुगलकिशोर कुशवाहको जाहेरीका आधारमा यो मुद्दा दर्ता भएको हो।

 
 
 
 
फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार