गत वर्ष असार २८ गते चितवनको भरतपुर–२९ स्थित सिमलतालमा भएको दुर्घटनामा २४ जनाको ज्यान गएको थियो। तर उक्त दुर्घटनाको जानकारी ढिलो प्राप्त भएका कारण तत्काल उद्धार सम्भव हुन सकेन। यस घटनाबाट सिक्दै अब पृथ्वी राजमार्गका दुर्घटना सम्भावित क्षेत्रमा सूचना प्रवाह छिटो होस् भनेर "आइओटी" (इलेक्ट्रिक डिभाइस) प्रविधि जडान गरिएको छ।
पृथ्वी राजमार्ग अन्तर्गत सिमलताल, चरौँदी, जलबीरे र मुग्लिङ जस्ता भौगोलिक रूपमा जोखिमयुक्त स्थानहरूमा प्रायः दुर्घटना हुने गरेका छन्। तर दुर्घटनाको जानकारी ढिलो प्राप्त हुँदा उद्धार प्रभावकारी बन्न नसकेको प्रहरीको भनाइ छ।
अब भने चितवनको सिमलताल र धादिङको चरौँदी क्षेत्रमा आइओटी डिभाइस जडान गरिएको छ। यस डिभाइसले दुर्घटना वा विपत् आउनासाथ रातो साइरनसहित सशस्त्र प्रहरी र उद्धार टोलीलाई सूचना पठाउनेछ। सशस्त्र प्रहरी बल नेपाल र लुना जिपिएस कम्पनीको सहकार्यमा पहिलो चरणमा दुई स्थानमा यो प्रविधि सञ्चालनमा ल्याइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो।
थापाका अनुसार, अब बाढी, पहिरो वा अन्य दुर्घटनाबारे प्रत्यक्षदर्शी नभए पनि सूचना प्राप्त हुनेछ। डिभाइसमा रहेको हरियो बटन १० सेकेन्ड थिच्दा कुरिनटारस्थित सशस्त्र प्रहरीको तालिम शिक्षालयमा लोकेसनसहितको सूचना पठाइनेछ र त्यहाँबाट तत्काल उद्धार टोली खटाइनेछ।
डिभाइसको प्रयोगबारे स्थानीय बासिन्दालाई आवश्यक तालिम र जानकारीसमेत दिइएको छ। साथै, नारायणघाटदेखि नागढुङ्गासम्मका स्थानीय बासिन्दा वा यात्रुहरूले लुना जिपिएसको मोबाइल एप्स डाउनलोड गरी एसओएस बटनमार्फत पनि घटनाको जानकारी दिन सक्नेछन्। एप्समा एम्बुलेन्स, बाढीपहिरो, आगलागी र दुर्घटनाका विकल्प छन्, जसमा क्लिक गर्दा विवरणसहित सूचना सम्बन्धित निकायमा पुग्नेछ।
यस प्रविधिले समयमै सूचना प्राप्त गरी उद्धार कार्यमा गति ल्याउने अपेक्षा गरिएको छ।