ट्रेन्डिङ

Logout

सप्तरीमा प्रहरीले चलाएको गोलीबाट एकको मृत्यु, स्थानीयको प्रदर्शन

7.5k Shares

मदिरा तस्करी नियन्त्रणको क्रममा सप्तरीमा प्रहरीले चलाएको गोलीबाट एक व्यक्तिको मृत्यु भएपछि स्थानीयवासी आन्दोलित बनेका छन्। मृतक राजगढ गाउँपालिका–२ कमलपुरका ३६ वर्षीय लालु यादवको मंगलबार राति प्रहरीको गोली लागेर मृत्यु भएको हो।

यादवको मृत्युको विरोधमा उनका आफन्त र स्थानीयबासीले जिल्ला प्रहरी कार्यालय सप्तरीको गेट अगाडि टायर बालेर प्रदर्शन गरेका छन्।

प्रहरीका अनुसार भारतको सीमावर्ती क्षेत्रमा मदिरा तस्करी भइरहेको सूचना पाएपछि ‘सर्च अपरेशन’ सञ्चालन गरिएको थियो। सो क्रममा स्थानीयसँग झडप भएपछि आत्मरक्षाका लागि गोली चलाइएको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

गोली लागेर तिघ्रामा गम्भीर घाइते भएका यादवलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

तर, स्थानीयले प्रहरीमाथि गम्भीर आरोप लगाएका छन्। राजगढ–१ का दीपेन्द्र यादवले लालु यादवलाई पहिले नियन्त्रणमा लिएर गोली हानी खेतमा फ्यालेको दाबी गरेका छन्। उनका अनुसार सर्च अपरेशनका बेला सामान्य विवाद भएपछि प्रहरीले गोली चलाएको हो, दोहोरो झडप भने भएको थिएन।

मृतकका ज्वाइँ एवं आन्दोलनमा सहभागी ई. संजीवनारायण यादवले लालु यादव विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा लाइसेन्स लिएर व्यापार गरिरहेको व्यक्ति भएको दाबी गर्दै, निहत्था व्यक्तिमाथि गोली चलाइनु अमानवीय भएको बताए।

प्रहरीले घटनास्थलबाट विभिन्न ब्रान्डका ८० कार्टुन मदिरा बरामद गरिएको जानकारी दिएको छ।

हाल घटनाको अनुसन्धान भइरहेको छ भने अवस्था तनावपूर्ण बनेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार