कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–२ मा एक १७ वर्षीया किशोरी सम्झना भट्ट मृत अवस्थामा फेला परेकी छन्। उनी आइतबार बिहान आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएकी हुन्। सम्झनाको विवाह करिब ६ महिनाअघि २४ वर्षीय पवन भट्टसँग भएको थियो।
घटनालाई शंकास्पद ठान्दै सम्झनाको माइती पक्षले प्रहरीमा उजुरी दिएका छन्। उनीहरूले पवनले सम्झनालाई बारम्बार कुटपिट गर्दै मानसिक र शारीरिक यातना दिने गरेको आरोप लगाएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी सागर बोहराका अनुसार, माइती पक्षको जाहेरीका आधारमा पवनलाई नियन्त्रणमा लिइएको छ।
प्रहरीका अनुसार मृत्युअघि सम्झनाले आफ्नी एक साथीलाई वाट्सएपमार्फत श्रीमान्ले आफूलाई कुटपिट गरेको जानकारी दिएकी थिइन्। यसअघि पनि सम्झना इलाका प्रहरी कार्यालय बेल्डाँडीमा श्रीमानको कुटपिटको उजुरी लिएर पुगेकी थिइन्। तर, त्यसपछि प्रहरीले पवनलाई सम्झाइबुझाई गरी कुटपिट नगर्ने सर्तमा छाडेको थियो। दुर्भाग्यवश, भोलिपल्ट सम्झना मृत अवस्थामा फेला परिन्।
पारिवारिक स्रोतका अनुसार सम्झना र पवन १३ वर्षको उमेरदेखि प्रेम सम्बन्धमा थिए र अन्ततः प्रेम विवाह गरेका थिए। विवाहपछि भने पवनले सम्झनालाई बारम्बार यातना दिने र मानसिक तनाव दिने गरेको परिवारको भनाइ छ।
सम्झनाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ। प्रहरीले पवन भट्टविरुद्ध अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।