अविरल वर्षासँगै खसेको पहिरोका कारण तानसेन–बुटवल सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा जिल्लाको तिनाउ गाउँपालिका–३ स्थित दोभान सिद्धबाबा क्षेत्रमा सोमबार बेलुकी ८ बजे ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
सिद्धबाबा सुरूङ मार्ग आयोजनाकी सूचना अधिकारी सविता ज्ञवालीका अनुसार, चट्टान र लेदोसहितको पहिरो खस्ने क्रम अझै पनि जारी रहेकाले पहिरो पन्छाउन कठिन भइरहेको छ। अहिले पनि क्षेत्रमा वर्षा भइरहेकोले पहिरो पन्छाउने कार्य रोकिएको जानकारी दिइएको छ।
वर्षा रोकिएपछि मात्र सडक खुलाउने प्रयास थालिने बताइएको छ।
सोधपुछका क्रममा अधिकारी ज्ञवालीले भनिन्, “वर्षा हुनेबित्तिकै ढुंगा र लेदो खस्ने हुँदा यो क्षेत्र पहिरोका लागि अति संवेदनशील बनेको छ। त्यसैले बारम्बार सडक अवरुद्ध हुन पुग्छ।”
सडक बन्द हुँदा यात्रु र सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन्। तत्काल वैकल्पिक व्यवस्था नहुँदा स्थानीयवासी र यात्रुले ठूलो सास्ती भोग्नु परेको छ।