ट्रेन्डिङ

Logout

सुपर न्यादी जलविद्युत आयोजनामा बाढीले ८० करोड रुपैयाँको क्षति, निर्माण कार्य ठप्प

3.8k Shares

लमजुङको मर्स्याङ्दी गाउँपालिका–६ र ७ भएर बग्ने ङादी खोलामा आएको भीषण बाढीले निर्माणाधीन ४०.२७ मेगावाटको सुपर न्यादी जलविद्युत आयोजनामा करिब ८० करोड रुपैयाँ बराबरको क्षति पुर्‍याएको छ।

आइतबार दिनभर परेको भारी वर्षासँगै खोलामा आएको बाढीले आयोजनाका संरचनाहरु भत्काउनुका साथै मेसिनरी औजार, निर्माण सामग्री र सवारी साधनसमेत बगाएको छ।

आयोजना प्रबन्धक विमल ढकालका अनुसार बाढीले हेडबक्स, पावरहाउस, पहुँच मार्ग, क्रसर उद्योग, मेसिनरी उपकरण, सिमेन्ट, डण्डी, डिजेल जेनेरेटर, कम्प्रेसर मेसिन लगायतका संरचनामा ठूलो क्षति पुर्‍याएको हो।

ढकालका अनुसार,

  • हेडबक्स क्षेत्रमा रहेका ४ वटा मिक्चर, ३ वटा एक्साभेटर, ३५०० बोरा सिमेन्ट, ७० टन डण्डी, जेनेरेटर, कम्प्रेसर मेसिन र क्रसर उद्योग पूर्ण रुपमा क्षतिग्रस्त भएका छन्।

  • २० किलोमिटर लामो पहुँच मार्गका १५ ठाउँमा पहिरोले क्षति पुर्‍याएको छ।

  • पावरहाउस क्षेत्रमा स्टोर गरिएको ७ हजार बोरा सिमेन्ट, १५० टन डण्डी, ३ वटा जेनेरेटर, २ वटा कम्प्रेसर, ३ वटा स्टोर भवन, २ वटा बलेरो जीप, १ वटा ट्रिपर, १ वटा एक्साभेटर बगाएको छ।

  • पैदल यातायातका लागि बनाइएको पुल र वर्कशपसमेत बगाइएको छ।

ढकालले आयोजनाको निर्माण कार्य पूर्ण रुपमा ठप्प भएको बताउँदै अनुमानित क्षति करिब ८० करोड रुपैयाँ पुगेको जानकारी दिनुभयो।

७ अर्ब लागत अनुमान गरिएको आयोजना हाई हिमालय र धवलागिरि कन्स्ट्रक्सन एन्ड डेभलपमेन्ट प्रालिले संयुक्तरूपमा निर्माण गरिरहेको छ। एनएमबी बैंकको अगुवाइमा ६ वटा वित्तीय संस्थाबाट ५ अर्ब २५ करोड ऋण लगानी तथा १ अर्ब ७५ करोड स्वपुँजी लगानी भएको आयोजनाबाट वार्षिक २३५.७६ गिगावाट घन्टा विद्युत उत्पादन हुने लक्ष्य छ।

उत्पादित विद्युत १३२ केभी टारीकुना खुदी सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ। सबस्टेसनसम्मको लाइन निर्माणको जिम्मा आयोजनाले आफैं लिएको छ।Untitled-2_1.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार