गुल्मी जिल्लाका विभिन्न स्थानमा चितुवाको बढ्दो उपस्थिति र आक्रमणले स्थानीयवासी त्रसित भएका छन्। पहिले जङ्गलमै सीमित रहने चितुवा अहिले गाउँ–बस्तीमा छिरेर आतंक मच्चाउन थालेपछि जनजीवन प्रभावित बन्दै गएको छ।
सदरमुकाम तम्घासस्थित वडा नं. ९ को उपल्लो तम्घासका स्थानीय गीता मुखियाका अनुसार रातको समयमा दुई–तीनको समूहमा चितुवा बस्तीमा प्रवेश गर्ने गरेको छ। उहाँले चितुवा घरको आँगनसम्म आइपुग्ने हुँदा रातभर निद्रा नलाग्ने बताउनुभयो। बालबालिकालाई राति पिसाब गराउन बाहिर लैजाँदा चितुवा आइलाग्ने डरले सताउने गरेको उहाँको भनाइ छ।
उही क्षेत्रका अर्का स्थानीय उद्धव मरासिनीले भने जङ्गली जनावरहरूको आक्रमणका कारण खेतबारीको मकैसमेत जोगाउन कठिन भइरहेको बताउनुभयो। बाँदर, बँदेल र दुम्सीले दिनमा मकै सखाप बनाउने र राति चितुवा बस्तीमा पस्ने क्रम बढ्दा सुरक्षाको गम्भीर समस्या उत्पन्न भएको उहाँले गुनासो गर्नुभयो।
रेसुङ्गा नगरपालिका वडा नं. ९ का अध्यक्ष कृष्णप्रसाद पाण्डेले पछिल्ला दिनमा चितुवाहरू हुल नै बनाएर बस्तीमा पस्न थालेको बताए। बस्तीमा चितुवा छिरेको थाहा पाएमा स्थानीयहरूले दुई–चार जनाको समूह बनाएर धपाउनुपर्ने अवस्था आएको उहाँको भनाइ छ। साथै, मकै खेतीलाई बाँदर, बँदेल र दुम्सीबाट जोगाउनका लागि झाँडी फडानी र समूहगत प्रयासको योजना बनाइएको जानकारी दिनुभयो।
यसैबीच, धुर्कोट गाउँपालिका–४, जैसीथोकको गोपे टोलमा आइतबार बाख्रा चराउन लगिएको समयमा चार वटा बाख्रा चितुवाले मारेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। बाख्रा स्थानीय तिलकुमारी खत्री र दुर्वता खत्रीका थिए।
चितुवा नियन्त्रणका लागि कानुनले प्रतिबन्ध लगाएका कारण डिभिजन वन कार्यालय गुल्मीका नायब सुब्बा मेघलाल पाण्डेले चितुवाबाट बच्ने उपायहरूमै केन्द्रित हुन आग्रह गर्नुभयो। उहाँले यदि कसैले जङ्गली जनावरको हत्या गरे वा संलग्न भयो भने कानुनी कारवाही हुने स्पष्ट पार्नुभयो।
पछिल्ला दुई आर्थिक वर्षमा चितुवा लगायतका जङ्गली जनावरबाट पशुधनमा क्षति व्यहोरेका स्थानीयहरूले राहत पाउन सकेका छैनन्। नायब सुब्बा पाण्डेका अनुसार लुम्बिनी प्रदेश सरकारले राहत दिने भनिए पनि ६० भन्दा बढी निवेदन दर्ता हुँदा पनि राहत वितरण हुन नसकेको हो।
गाउँ–बस्तीमा चितुवाको बढ्दो आतंक, खेतीमा जङ्गली जनावरको आक्रमण र राहतको अभावले गुल्मीका ग्रामीण क्षेत्रका बासिन्दाको दैनिकी थप कठिन बन्दै गएको छ।