जनकपुरधाममा खुकुरी प्रहार गरी १५ वर्षीया किशोरीको ज्यान लिने घटनाका अभियुक्तको पहिचान खुलेको छ। सोमबार मध्यराति जनकपुरधाम–४ स्थित मस्जिद टोलमा एक कोठाभित्र पसेर किशोरी अञ्जली यादवको हत्या गर्ने व्यक्ति धनुषा क्षिरेश्वरनाथ नगरपालिका–९ इच्छापुर निवासी ३५ वर्षीय रामबाबु साह रहेको प्रहरीले पुष्टि गरेको हो।
धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार घटना पछि साह फरार भएका छन् र हाल प्रहरीको टोलीले उनको खोजी कार्य तीव्र बनाएको छ। मृतक अञ्जलीकी आमा आशादेवी यादव र बहिनी १४ वर्षीया राधा यादव पनि घटनामा घाइते भएका छन्। उनीहरू हाल प्रादेशिक अस्पताल जनकपुरमा उपचाररत छन्।
घटनाबारे प्रारम्भिक विवरण अनुसार राति करिब सवा १२ बजे रामबाबु साह अचानक कोठाभित्र प्रवेश गरी तीनै जनामाथि खुकुरी प्रहार गरेका थिए। गम्भीर घाइते भएकी अञ्जलीको उपचारको क्रममा राति साढे १२ बजे अस्पतालमै मृत्यु भएको जनाइएको छ। आशादेवीको टाउको, आँखा, निधार र घाँटीमा गम्भीर चोट लागेको छ भने राधाको घुँडामा चोट लागेको छ।
प्रहरीका अनुसार घटनाको स्पष्ट कारण अहिलेसम्म खुल्न सकेको छैन। अञ्जलीकी आमा आशादेवी अझै बेहोस अवस्थामा रहेकाले थप विवरण आउन बाँकी रहेको बताइएको छ। प्रहरी उपरीक्षक रेग्मीले घटनामा संलग्न भनिएका रामबाबु साहलाई पक्राउ गरेपछि थप यथार्थ खुल्ने विश्वास व्यक्त गरेका छन्। हाल घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।