ट्रेन्डिङ

Logout

अनुगमनमा पुगेका प्राधिकरण प्रमुख, चनौली सबस्टेशन प्रमुख अनुपस्थित

4.6k Shares

चितवनमा विद्युत आपूर्तिमा समस्या देखिएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सोमबार चितवन पुगेका थिए। अनुगमनका क्रममा उनी चनौली सबस्टेशन पुग्दा त्यहाँका प्रमुख राजकुमार श्रेष्ठ अनुपस्थित रहेका थिए।

शाक्य बिहान १० बजेतिर भरतपुर सबस्टेशनको निरीक्षण गरेपछि सवा ११ बजे चनौली पुगेका थिए। तर, सबस्टेशन प्रमुख श्रेष्ठ कार्यालयमा उपस्थित नभएको पुष्टि भएको छ। अनुगमनका क्रममा उनले लोड व्यवस्थापनमा लापरवाही भएको भन्दै आक्रोश पनि व्यक्त गरेका थिए।

शाक्यले सबस्टेशनका अन्य इन्जिनियरसँग कुरा गर्दै भने, “लोड नाकनाकसम्म पुग्दा पनि थाहा नपाउने, डुबेपछि मात्रै होस पाउने? जेठमा काम गर्न नसकिने हो भने वैशाखमै तयारी गर्नुपर्थ्यो, समस्या ट्रान्सफर्मरमा होइन, फिडरमै हो।”

विद्युत आपूर्ति समस्या, उपकरण अवस्था, तथा समाधान योजनाबारे प्रमुखले प्रमुखलाई जानकारी दिनुपर्नेमा श्रेष्ठ दिनभर अनुपस्थित रहे। कार्यकारी निर्देशक शाक्य चितवनमा लगभग ६ घण्टा रहेपनि श्रेष्ठको उपस्थिति नदेखिएकोले व्यवस्थापनमा गम्भीर प्रश्न उठेको छ।

यस विषयमा श्रेष्ठले आफू कार्यालयबाहिर काममा लागेको र बागमती डिभिजन प्रमुख जितेन्द्रकुमार झालाई जानकारी गराएको बताए। उनले देवनगर सबस्टेशनतर्फ काम गरिरहेको दाबी गरे। तर, डिभिजन प्रमुख झाले भने, “मैंले तिमी जाऊ भनेको होइन, समस्या देखिएर गएका होलान् भनेर मात्रै बुझेको हुँ।”

शाक्यले चनौली सबस्टेशनको अवस्था सुधार गर्न ध्यान दिनुपर्नेमा जोड दिँदै, कुनै पनि हालतमा जिम्मेवार पदमा बसेका व्यक्तिहरूले यसरी अनुपस्थित हुनु अस्वाभाविक र अस्वीकार्य भएको जनाएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार