रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ स्थित प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा डुबेका दुई तीर्थालुको शव निकालिएको छ।
साउन ११ गते शनिबार स्नान गर्ने क्रममा डुबेर बेपत्ता भएका ती व्यक्तिहरूको खोज तथा उद्धार कार्यमा खटिएको नेपाली सेनाको श्रीनाथ गणबाट गएको टोलीले स्थानीय स्रोत र साधन प्रयोग गरी शव कुण्डबाट निकाल्न सफल भएको हो।
नेपाली सेनाका अनुसार, फेला परेका शवहरू नेपाल प्रहरीले बुझ्नेछ।
जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीका अनुसार, डुबेर ज्यान गुमाउनेमा मोरङ जिल्ला विराटनगरका करिब २८ वर्षीय सुजन ढकाल र मोरङ बेलवारीका मनोज न्यौपाने रहेका छन्।
प्रहरीको प्रारम्भिक अनुमानअनुसार, तीर्थालुहरू गहिरो स्थानमा स्नान गर्न पसेकाले डुबेको हुन सक्ने आँकलन गरिएको छ।
गोसाइँकुण्ड, विशेषगरी साउने पूर्णिमाका अवसरमा हजारौं भक्तजनहरू स्नान गर्न पुग्ने स्थल भएकाले सुरक्षाका दृष्टिकोणले थप सजगता आवश्यक देखिएको छ।