गत साउन ६ गते रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४, पिपलचौरमा भेरी कोरिडोर सडकबाट टिप्पर खस्दा बेपत्ता भएका तीनै जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका अनुसार दुर्घटनामा परेका धनवीर बिक, मनिराम चौधरी र हरि विकको शव फरक-फरक मितिमा सुर्खेतमा फेला परेको हो।
सानीभेरी गाउँपालिका–३ निवासी ३३ वर्षीय धनवीर बिकको शव आइतबार बेलुका सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भेरी नदी किनारमा भेटिएको हो। मृतकका दाजुले सोमबार शवको पहिचान गरेका थिए। यति बिल्डर्समा जेसीभी अपरेटरका रूपमा कार्यरत धनवीर दुर्घटनाको बेला टिप्परमा सवार थिए।
त्यस्तै, टिप्पर चालक ४१ वर्षीय मनिराम चौधरी (दाङ) र २० वर्षीय जेसीभी हेल्पर हरि विक (रुकुम पूर्व, सिस्ने गाउँपालिका–८) को शव भने यसअघि नै सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ खोचीस्थित भेरी नदी किनारमा फेला परिसकेको थियो।
टिप्पर (रा १ क १५०१) साउन ६ गते साँझ वडा नम्बर ११ को चिसापानीबाट वडा नम्बर १४ को छेपारेतर्फ जाँदै गर्दा सडकबाट खसेर भेरी नदीमा पुगेको थियो। दुर्घटनास्थलभन्दा करिब चार सय मिटर तल, जाजरकोटतर्फ, टिप्परको अगाडिको भाग पनि भेटिएको थियो।
तीनै जना घटनापछि बेपत्ता भएका थिए। खोजतलासपछि शव फेला परेपछि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।