पोखरामा विदेशी मुद्राको अवैध सटही कारोबारमा संगठित गिरोह सक्रिय रहेको खुलासा भएको छ। बैंकमार्फत कानुनी प्रक्रिया नअपनाई अनौपचारिक रूपमा सटही कारोबार हुँदै आएको प्रहरीले पुष्टि गरेको हो। पर्यटकीय सहर भएकाले यसअघि पनि यस्ता गुनासो आइरहेका थिए, तर प्रहरीले विशेष अपरेसन चलाएर तीन जनालाई ७६ लाख रुपैयाँसहित पक्राउ गरेपछि अवैध कारोबार पुष्टि भएको हो।
कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार पक्राउ परेका व्यक्तिहरूमा रुपन्देहीका महुमुद्दिम एम अहमद, झापाका राजकुमार बुढाथोकी, र पोखराका खेमराज पौडेल रहेका छन्। बुढाथोकी ‘हिलारी मनी चेन्जर’ र पौडेल ‘सगरमाथा मनी चेन्जर’का सञ्चालक हुन्। प्रहरीले पक्राउ गर्दा फेला परेको डलरका बण्डलमा उनीहरूको नाम समेत उल्लेख गरिएको थियो, जसले उनीहरूबीचको मिलेमतो पुष्टि गर्छ।
महुमुद्दिमले नेपाली रुपैयाँ संकलन गरी विदेशी मुद्रा सटही गर्ने कार्यमा संलग्न रहेको पाइएको छ। उनीहरूको साथबाट १९ हजार ६०० अमेरिकी डलर, ३ हजार २०० यूरो, र ४३ लाख ७३ हजार ७०० नेपाली रुपैयाँ बरामद गरिएको छ।
नेपाल राष्ट्र बैंक ऐन अनुसार इजाजतबिना विदेशी विनिमय कारोबार गैरकानुनी मानिन्छ, र यस्तो कार्य गरेमा बिगो जफत गर्दै तीन वर्षसम्म कैद वा जरिवाना वा दुवै सजाय हुन सक्ने प्रावधान छ। यस गिरोहले पासपोर्ट वा भिसा जस्ता कानुनी प्रक्रिया नअपनाई सिधै अवैध सटही गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो।
प्रहरीले अहिले पनि डलरको स्रोत, प्रयोग, र सम्भावित अन्य संलग्नहरूबारे गहिरो अनुसन्धान गरिरहेको छ। यस प्रकृतिको अनुसन्धानसहितको कारबाही पोखरामा पहिलो पटक भएको बताइएको छ। यसैबीच, मुद्रा सटही व्यवसायी संगठनका अध्यक्ष रुपक मिश्रले पोखरामा राष्ट्र बैंकबाट अनुमति प्राप्त ३५ व्यवसायी रहेको र प्रहरीको अनुसन्धानबारे जानकारी लिइरहेको बताएका छन्। तीनै जना पक्राउ परेकालाई ७ दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको छ।