नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएल (यंग कम्युनिस्ट लिग) भित्र नेतृत्वको सर्कुलरलाई लिएर गम्भीर विवाद उत्पन्न भएको छ। अध्यक्ष पुष्प ओलीले तीन दिनअघि जारी गरेको सर्कुलरप्रति उपाध्यक्ष नवराज ऐरसहित आठ नेताले असहमति जनाएका छन्। असन्तुष्ट नेताहरूको आरोप छ कि संगठनात्मक जिम्मेवारी बाँडफाँट गर्दा पार्टीको प्रक्रिया उल्लङ्घन गर्दै आफूनिकट कार्यकर्तालाई प्राथमिकता दिइएको छ।
उपमहासचिव जनार्दन शर्मा पक्षधर मानिने नेताहरूले अध्यक्ष ओली र इञ्चार्ज रामप्रसाद सापकोटामाथि व्यक्तिवाद बढाएको आरोप लगाएका छन्। उनीहरूको भनाइमा योग्य, समर्पित र सिनियर कार्यकर्ताहरूलाई बेवास्ता गरिएको छ। साथै, बिना पारिश्रमिक हटाइएको कार्यालय सचिव सीता नेपालीलाई बाँकी १४ लाख पारिश्रमिक दिनुपर्ने माग पनि गरिएको छ।
पद र जिम्मेवारीको बाँडफाँटमा एकपक्षीय निर्णय, कार्यविभाजनका पूर्व सहमति तोडिएको, केन्द्रीय कमिटीमा मनोमानी ढंगले सदस्य थपिएको, र पद बेचबिखनजस्तो गम्भीर आरोप पनि लगाइएको छ।
उप महासचिव सुरज खातीले ‘हजारमा सदस्य र लाखमा पदाधिकारी बेचिएको’ लेख्दै सामाजिक सञ्जालमा आक्रोश पोखेका छन्। अर्का सदस्य अनिल शेर्पालीले पनि इञ्चार्ज दीपशिखाप्रति व्यंग्य गर्दै ‘महँगो बोटल ल्याइदिन सक्दिनँ, तर तपाईंको प्रालिको सदस्य बन्नै पर्यो’ भन्दै आलोचना गरेका छन्।
इञ्चार्ज दीपशिखाले भने संगठनभित्र सबैलाई सन्तुष्ट बनाउन नसकिने बताए। उनले कमिटीकै निर्णय अनुसार काम भएको दाबी गर्दै असन्तुष्ट पक्षले अनावश्यक विवाद सिर्जना गरिरहेको प्रतिक्रिया दिएका छन्।