दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका २६ वर्षीय हरिप्रसाद राई वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहँदै आउनुभएको थियो। तर साउन २ गतेदेखि उहाँ सम्पर्कविहीन हुनु भएको छ।
तीन वर्षअघि काठमाडौँको सिनामङ्गलस्थित फाजल इन्टरनेश्नल प्रालिमार्फत मलेसिया पुगेका हरिप्रसाद केएलस्थित स्यारोटन होटलमा सहयोगीको रूपमा कार्यरत हुनुहुन्थ्यो। सम्पर्कविहीन हुनुअघि साउन १ गते राति उहाँले मलेसियामै रहेका आफ्ना दाजु हिमाल राईलाई फेसबुक म्यासेन्जरमार्फत आपतमा परेको र आफूलाई बचाउन अनुरोध गर्दै सन्देश पठाउनुभएको थियो।
म्यासेजमा उहाँले लेख्नुभएको थियो, “मलाई सिध्याउने षड्यन्त्र गरेका छन्, मालिकलाई नभन्नु, उसले थाहा पायो भने मलाई सिध्याउँछ, अब मलाई घर पठाउँदैन, घर जानका लागि म भाग्नुपर्छ, दुई दिनको छुट्टी लिएर मलाई निकाल्नुस्।”
त्यसको भोलिपल्टदेखि सम्पर्कविहीन हुनु भएको हो।
हरिप्रसाद सम्पर्कविहीन भएपछि दाजु हिमालले मलेसियास्थित नेपाली राजदूतावास र कम्पनीमा पुगेर खोजतलासका लागि अनुरोध गर्नुभएको छ। तर अहिलेसम्म कुनै प्रतिक्रिया नआएको र हरिप्रसादको म्यासेज हेर्दा सम्भावित षड्यन्त्रको सङ्केत देखिएको दाजु हिमालको भनाइ छ।
नेपालस्थित मेनपावर कम्पनीका तत्कालीन एजेन्ट निरज दाहालका अनुसार हरिप्रसाद कम्पनी छाडेर भागेको हुनसक्ने अनुमान गरिएको छ। उहाँका अनुसार अहिले आफू उक्त मेनपावर कम्पनीमा कार्यरत नरहे पनि हरिप्रसाद आफ्नै माध्यमबाट मलेसिया गएको हुनाले सम्बन्धित निकायमा जानकारी गराइसकिएको छ।
रु २ लाख ५० हजार धरौटी बुझाएर मलेसिया गएका हरिप्रसाद सम्पर्कविहीन भएपछि उहाँको परिवार निकै चिन्तामा परेको छ।