जनताको घरदैलोमा सेवा पुर्याउने जिम्मेवारी बोकेका कैलालीका अधिकांश स्थानीय तहहरूले पुँजीगत बजेट खर्चमा अपेक्षाकृत कमजोरी देखाएका छन्। चालु खर्चमा सन्तोषजनक प्रगति गरे पनि दीर्घकालीन पूर्वाधार विकासका लागि विनियोजित पुँजीगत बजेट खर्चमा भने ती स्थानीय तहहरू पछि परेका छन्।
आर्थिक वर्ष २०८१/८२ को वित्तीय प्रगति विवरण अनुसार प्रायः सबै पालिकामा चालु खर्चको प्रगति दर पुँजीगत खर्चको तुलनामा बढी देखिएको छ। अधिकांश पालिकाले चालु बजेटमा बढी रकम विनियोजन गरेका छन् भने पुँजीगततर्फ कम बजेट छुट्याइएको छ।
उदाहरणका लागि, धनगढी उपमहानगरपालिकाले एक अर्ब १६ लाख पुँजीगत बजेटमध्ये ६२.८९ प्रतिशत (६२ करोड ९९ लाख) मात्र खर्च गरेको छ भने चालुतर्फ ८३.५६ प्रतिशत (एक अर्ब एक करोड ६२ लाख) खर्च गरेको छ।
मोहन्याल गाउँपालिकाले २२ करोड ५८ लाख पुँजीगत बजेटमध्ये ७८.३७ प्रतिशत खर्च गर्दा चालु बजेटतर्फ ८९.८६ प्रतिशत खर्च गर्न सफल भएको छ।
बर्दगोरिया गाउँपालिका र गौरीगङ्गा नगरपालिका समेत चालु बजेट खर्चमा क्रमशः ९२.९५ र ८७.२५ प्रतिशतको प्रगति गरे पनि पुँजीगत खर्चमा ७५.१४ र ६१.६१ प्रतिशतमै सीमित भएका छन्।
टीकापुर नगरपालिका को पुँजीगत खर्च दर झनै कमजोर देखिएको छ—५७.८५ प्रतिशत मात्रै। चालु बजेट खर्च भने ८६.०६ प्रतिशत पुगेको छ।
त्यस्तै लम्कीचुहा, गोदावरी, भजनी, जानकी जस्ता पालिकाले पनि चालु खर्चमा ८४ प्रतिशतभन्दा बढीको प्रगति देखाए पनि पुँजीगत खर्च ७०–७७ प्रतिशतको आसपासमै रहेको छ।
कुल रूपमा हेर्दा, कैलालीका स्थानीय तहहरूले विकास निर्माणका लागि छुट्याइएका बजेटहरू समयमै खर्च गर्न नसक्नु नियोजन, कार्यान्वयन र प्रशासनिक संयोजनमा कमजोरी रहेको संकेत दिन्छ। यसले दीर्घकालीन भौतिक विकासमा असर पर्ने देखिन्छ। स्थानीय तहहरूले अब आउने आर्थिक वर्षमा पुँजीगत खर्चको प्रभावकारी कार्यान्वयनतर्फ ध्यान केन्द्रित गर्न आवश्यक देखिन्छ।