नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले पदबाट राजीनामा दिएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार उनले केही दिनअघि इमेलमार्फत आफ्नो राजीनामा पेश गरेका हुन्।
वाइल्डको राजीनामा एएफसी महिला एसियन कप छनोटका क्रममा उज्बेकिस्तानमा देखिएको विवादपछिको प्रतिक्रिया हो। कप्तान चयनलगायतको विषयमा वाइल्ड र नेपाली टिम व्यवस्थापनबीच विवाद उत्पन्न भएको थियो। एन्फाले घटनाबारे स्पष्टिकरण माग्दै पत्र लेखेपछि उनले जवाफमा राजीनामै पेश गरेका हुन्।
प्रशिक्षक वाइल्डले एक अन्तरवार्तामा एन्फाको आलोचना गर्दै “संघमा सुधार नभएसम्म नेपाल नफर्कने” बताएका थिए। उनी हाल आफ्नो देश बेल्जियम फर्किसकेका छन्।
यता नेपाली टोली स्वदेश फर्किएपछि टिम व्यवस्थापनले पत्रकार सम्मेलनमार्फत वाइल्डलाई नै घटनाका लागि दोषी ठहर गरेका थिए।
परिणामको हिसाबले, नेपालले श्रीलंका र लाओसमाथि सहज जित निकाल्यो भने उज्बेकिस्तानसँग बराबरी खेल्दै टाइब्रेकरमा चुकेर एएफसी महिला एसियन कपमा छनोट हुन सकेन।
एन्फा अध्यक्ष पंकज नेम्वाङ हाल देशबाहिर रहेका कारण वाइल्डको राजीनामा औपचारिकरूपमा स्वीकृत भएको छैन।
यो घटनाले नेपाली महिला फुटबलमा देखिएको व्यवस्थापन र नेतृत्वबीचको द्वन्द्व उजागर गरेको छ।